भद्रपुर: यी हुन् ललितपुरका डुकुमान स्याङ्तान। आफ्नो घर सुरक्षित् ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा पचास मिटर तल रहेका ७ घरमा बाढी पस्न थालेको देखेर छिमेकीहरूको उद्धार गर्न तल झरे। ती घरका मानिसलाई सुरक्षित स्थानमा ल्याइसकेका मात्र के थिए, डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले आफ्नै घर पुर्न थालेको देखे। उनी आफ्नो घर पुग्नै पाएनन्। पहिरो यति तीव्र गतिमा झर्यो कि उनी पुग्नुअघि नै उनको घर पुर्यो। गुहार मागे। चिच्याए, अनि थचक्क भुँइमा बसेर रोए। ‘मेरो सर्वस्व गुम्यो।’ डुकुमानको सर्वस्व अर्थात् श्रीमती राममाया स्याङतान, जेठा छोरा १४ वर्षीय अजय र ११ वर्षीय सुवास र ९ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो। खोलाका किनारै किनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे। तर, फेला पार्न सकेनन्। तैपनि चारैजना कहीँकतै जिउँदै भेटिने आस उनलाई थियो। दिउँसो २/३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला परे। ‘भर्याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो, ‘ श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ।’ परिवारका ५ मध्ये अब डुकुमान एक्लै जीवित छन्। उनका बुबा, आमा, दाइको पहिल्यै मृत्यु भइसकेको छ। उनी तीन वर्ष वैदेशिक रोजगारमा बसेर पाँच महिनाअघि मात्र फर्केका थिए।