दुबई: भारतका दिग्गज पेस बलर जसप्रीत बुमराह आईसीसीद्वारा बुधवार जारी नवीनतम टेस्ट ऱ्याङकिंगमा फेरि नम्बर एक टेस्ट बलर बनेका छन्। यसरी युवा ओपनिंग ब्याटर यशस्वी जयसवाल तेस्रो स्थानमा पुगेका छन् । बंग्लादेशविरुद्ध हालै समाप्त दोस्रो टेस्ट म्याचमा ६ विकेट लिने बुमराहले साथी खेलाड़ी रविचन्द्रन अश्विनलाई केवल एक पोइण्टले पछि छोड़ेर दोस्रोपल्ट शीर्ष स्थान हासिल गरेका छन् । बुमराहसँग अहिले ८७० रेटिंग पोइण्ट्स रहेको छ। अश्विन दोस्रो स्थानमा छन्। यसरी बंग्लादेशका स्पिनर मेहदी हसन मिराज ४ स्थान अघि बढ़ेर १८औं र अनुभवी शाकिब अल हसन पनि ५ स्थान अघि बढ़ेर २८औं स्थानमा पुगेका छन्। यसरी श्रीलंकाका स्पिनर प्रबाथ जयसूर्याले करियरको सर्वोच्च रेटिंग हासिल गर्दै टेस्ट बलरहरूका ऱ्याङकिंगमा एक स्थान अघि बढ़ेर सातौं स्थान हासिल गरेका छन्। उनले न्यूजील्याण्डविरुद्ध दुईवटा टेस्ट म्याचको सीरीजमा १८ विकेट लिएका थिए।
यसबीच बंलादेशविरुद्ध सीरीज जीतले भारत चाहिँ आउँदो साल लर्ड्समा हुने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलको नजिक पुगेको छ। शीर्षमा कायम भारतसँग अहिले मजबूत बढ़त रहेको छ अनि लगातार तेस्रोपल्ट फाइनल खेल्ने नजिक पुगेको छ। यसरी दोस्रो टेस्टमा प्लेयर अव् द म्याच रहने युवा ओपनर जयसवालले टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा दुई स्थानको सुधार गरी तेस्रो स्थान हासिल गरेका छन्। उनले करियरको नयाँ सर्वोच्च रेटिंग पनि हासिल गरेका छन्। जयसवालले दोस्रो टेस्टको दुवै इनिंग्समा अर्द्धशतक बनाएका थिए। अहिले उनीभन्दा अघि केवल ईंग्ल्याण्डका जो रुट र न्यूजील्याण्डका केन विलियम्सन रहेका छन्। यसरी दोस्रो टेस्टमा ४७ र अविजित २९ रन बनाउने विराट कोहली पनि ६ स्थानको सुधार गरी छैटौं स्थानको साथ शीर्ष दशमा फर्किएका छन्। लयमा रहने श्रीलंकाका कामिण्डु मेण्डिस पनि पाँच स्थानको सुधार गरी ११औं स्थान हासिल गरेका छन्। टेस्ट अलराउण्डरहरूका सूचीमा भारतका रविन्द्र जडेजा शीर्ष स्थानमा कायम छन्।