गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमले महात्मा गॉंधीको १५५औं जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धा र सम्मान प्रकट गर्दै महात्मा गॉंधीले देखाएको सत्य, अहिंसा र न्यायको मार्गले हाम्रो समाजलाई शान्ति, सहिष्णुता र एकताको बाटोमा अगाडि बढ्न प्रेरणा दिएको छ भनी बताएको छ। क्याप सिक्किमले गॉंधीजीको योगदानलाई सम्झाना गर्दै सिक्किममा पनि गॉंधीवादी मूल्य र सिद्धान्तहरूलाई जीवन्त राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। क्याप सिक्किमले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, ‘हामीलाई विश्वास छ कि सत्य र अहिंसाको मार्गले मात्र समाजमा स्थायी शान्ति, विकास र समानता सम्भव छ। गॉंधीजीले प्रकट गरेको ‘स्वराज’ को अर्थ मात्र राजनीतिक स्वतन्त्रता होइन, बरु सामाजिक र आर्थिक समानता पनि हो। हाम्रो पार्टी यस महान विचारलाई आत्मसात गर्दै सिक्किमको हरेक नागरिकलाई समान अधिकार, अवसर र सम्मान सुनिश्चत गर्ने दिशामा कार्यरत छ। हामीले समृद्ध, स्वाभिमानी र समावेशी सिक्किम निर्माणको संकल्प गरिरहेका छौं, जहाँ प्रत्येक नागरिकको आवाज सुन्ने र सम्मान गर्ने वातावरण तयार हुनेछ।’
क्याप सिक्किमले अघि भनेको छ, ‘हामी सबैलाई पुनःस्मरण गराउन चाहन्छौं कि गॉंधीजीले देखाएको मार्गमा अघि बढ्दै, हामीले आफ्नो समाजलाई दुरुस्त राख्न र प्रगतिको दिशामा अघि बढाउन अहिंसात्मक संघर्ष, सहनशीलता र सद्भावनाको भावनालाई आत्मसात गर्नुपर्नेछ।’ क्याप सिक्किमले सबै सिक्किमेली जनतालाई गॉंधी जयन्तीको शुभकामना व्यक्त गर्दै सबै मिलेर गॉंधीजीको विचारधारालाई जीवन्त राखेर समृद्ध सिक्किमको निर्माणमा योगदान दिन आह्वान गरेको छ।