सिक्किम सरकारले पालन गर्यो १५५औं गान्धी जन्मजयन्ती

IMG-20241002-WA0389

गान्तोक: राष्ट्रपिता महात्मा गान्धीको १५५औं जन्मजयन्ती सिक्किम सरकारले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि राजधानी गान्तोकको एमजी मार्गस्थित गान्धीजीको प्रतिमा परिसरमा पालन गऱ्यो। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि रहेका थिए भने मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि रहेका थिए। कार्यक्रमको आरम्भ राज्यपाल अनि मुख्यमन्त्रीको साथमा अन्य अतिथिहरूद्वारा महात्मा गान्धीको प्रतिमामा खादा अनि पुष्पार्पणबाट भयो। गान्धीजीलाई श्रद्धाञ्जली अर्पण गर्नेहरूमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, विभिन्न विभागका मन्त्रीगण, विधायकगण अनि शीर्ष अधिकारीहरू प्रमुख थिए।
गान्धीजीको प्रतिमामा खादा र पुष्पार्पणको कार्यक्रम सकिएपछि गान्धी जयन्ती २०२४को अवसरमा राज्य सरकारको शहरी विकास र ग्रामीण विकास विभागद्वारा विभिन्न स्वच्छता पुरस्कार हस्तान्तरण गरियो। राज्यपाल र मुख्यमन्त्रीको बाहुलीबाट विजेता जिल्ला, नगरपालिका वार्ड, ग्राम पञ्चायत वार्ड. स्वंय सहायता समूह र सफाई मित्रहरूलाई प्रमाणपत्रको साथमा नगद पुरसकार प्रदान गरियो।
पुरस्कृत हुनेहरूमा स्वच्छ नगरपालिका वर्गमा पहिलो मंगन नगर पञ्चायत, दोस्रो रम्फू नगर पञ्चायत र तेस्रो सिङ्गताम नगर पञ्चायत रहेको छ जसले पुरस्कारस्वरुप क्रमैले १०, ७ र ५ लाख रुपियाँ प्राप्त गऱ्यो। उल्लेखनीय छ, मंगन नगर पञ्चायतले यस वर्ष लगातार तेस्रोपल्ट पहिलो पुरस्कार प्राप्त गरेको हो। यसरी नै गान्तोक नगरनिगमका सबैभन्दा स्वच्छ वार्डको पुरस्कार वार्ड नम्बर ७ डेभलपमेन्ट एरियाले प्राप्त गऱ्यो। अर्कोतिर सबैभन्दा स्वच्छ ग्राम पञ्चायत एकाई वर्गमा पहिलो र दोस्रो पुरस्कार क्रमैले गेजिङ जिल्लाको आरिथाङ चोङ्गराङ जीपीयू र पाकिम जिल्लाको बुदाङ कमरे जीपीयू-ले प्राप्त गऱ्यो भने तेस्रो पुरस्कार मंगन जिल्लाको लिङ्गदोङ बार्फोक जीपीयू र गान्तोक जिल्लाको सामलिक मार्चक जीपीयू बीच टाई भयो। यसरी नै भारत सरकारको महत्वाकांक्षी योजना स्वच्छता ही सेवा-अन्तर्गत राज्यको बेस्ट पर्फर्मिङ डिस्ट्रिक्ट-को उपाधी भने मंगन जिल्लाले प्राप्त गऱ्यो।

आजको पुरस्कार अलङ्करण समारोहमा राज्यका विभिन्न नगरपालिका क्षेत्रका सर्वश्रेष्ठ सफाई कर्मचारी अर्थात सफाई मित्रहरूलाई पनि पुरस्कार प्रदान गरियो जसमा गान्तोक नगरनिगमबाट श्रीमती फुर्मित लेप्चा, श्रीमती मनु तामाङ, टीका राम छेत्री र श्याम कुमार सुब्बा रहेका छन् भने नाम्ची नगर परिषदबाट दलबहादुर लिम्बू, नयाँ बजार-जोरथाङ नगर पञ्चायतबाट रवी रावत, रम्फू नगर पञ्चायतबाट दिलिप रावत, सिङ्गताम नगर पञ्चायतबाट लोकेश बाल्मिकी, मंगन नगर पञ्चायतबाट नरेश राम र गेजिङ नगर पञ्चायतबाट मनबहादुर सन्यासी रहेका छन्। यसरी नै पाँचजना सिवरेज वर्करलाई पनि आजको कार्यक्रममा पुरस्कृत गरियो जसमा वीरतामान तामाङ, उगेन लेप्चा, दावा छिरिङ भोटिया, योगनाथ शर्मा र पासङ भोटिया रहेका छन्। यसको साथै आजको कार्यक्रममा पहिलोपल्ट स्वच्छता ग्रीन लिफ रेटिङ पुरस्कार पनि प्रदान गरियो जुन पुरस्कार गान्तोकको स्टेट सर्किट हाउसले प्राप्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement