गेजिङ: महात्मा गान्धीको १५५औं जन्मजयन्तीको अवसरमा गेजिङ जिल्लाले राष्ट्रपिताको आदर्श र योगदानलाई सम्मान गर्दै एक विशेष कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमको मुख्य उद्देश्य गान्धीको सत्य, अहिंसा र सार्वजनिक सेवामा समर्पणका मूल्यमान्यतालाई प्रोत्साहन गर्नु थियो। साथसाथै, ‘स्वच्छता ही सेवा’ अभियानको समापन गर्दै वातावरण संरक्षण र स्वच्छताको महत्वलाई उजागर गरियो। उक्त अवसरमा प्रमुख अतिथि भवन तथा आवास अनि श्रम विभागका मन्त्री भीमहाङ सुब्बा र विधायक लोकनाथ शर्मा, सुदेश सुब्बालगायत जिल्लापाल येशी डी योङडा तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षण ‘घरेलु भान्सा घरको फोहोर व्यवस्थापन’ सम्बन्धी पाइलट प्रोजेक्टको शुभारम्भ गरियो। यस पहलले भान्साको फोहोरलाई पुनःप्रयोग गर्दै कुखुराको दानामा परिवर्तन गरी ल्यान्डफिलको भार घटाउने लक्ष्य राखेको छ। गेजिङ नगर पञ्चायतका ८० घरधुरीलाई फाइदा पुरयाउने यो परियोजनाले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। त्यस्तै, विद्युतीय फोहोर व्यवस्थापनलाई पनि विशेष ध्यान दिइएको छ। ड्याक ई–फोहोर सङ्कलन केन्द्रमार्फत संकलित विद्युतीय फोहोरलाई वैज्ञानिक ढङ्गले पुनःप्रयोग गरिने योजना रहेको छ।