गान्तोक: वर्षाका कारण क्षति भएका सड़कहरुको निरीक्षण र आपदाबारे जायजा लिन आएका सीमा सड़क संगठनका महानिर्देशक लेफ्टिनेन्ट जेनरल रघु श्रीनिवासनले आज सिक्किमको तीन दिवसीय भ्रमण पूरा गरेका छन्। यसबीच उनले सिक्किमको विभिन्न सडकहरूमा भइरहेको पुनर्स्थापना र निर्माण कार्यहरूको समीक्षा गरे। भ्रमणको क्रममा बीआरओका अतिरिक्त महानिदेशक हरिन्दर कुमार पनि सामेल थिए। आफ्नो भ्रमणअवधिमा बीआरओ स्वस्तिक परियोजनाका प्रधान अभियन्ता मनोज गुप्ताले उत्तर सिक्किमको भरतमाला परियोजनाअन्तर्गत प्रस्तावित राष्ट्रिय राजमार्ग डबल लेन कार्यको प्रगति सहित विभिन्न कार्ययोजनाबारे जानकारी दिए। पुनर्स्थापनासंगै सड़कको निर्माण कार्यबारे जायजा लिएपछि महानिर्देशक श्रीनिवासनले राज्यका राज्यपाल र मुख्यमन्त्रीसंग भेट गरेर सम्पूर्ण जानकारी गराएका थिए। उनले सिक्किममा वर्षा मौसम सकिएपछि सड़क निर्माण र पुनर्निर्माणको कामलाई तीव्रता दिने आश्वासन पनि दिएका थिए। यसबीच बीआरओ महानिर्देशकले सिक्किमका मुख्य सचिव भीबी पाठकसँग पनि परियोजनाहरुबारे छलफल गरेका थिए र राज्य सरकारद्वारा प्रदान गरिएको सबै सहयोगको लागि कृतज्ञता व्यक्त गरेका थिए। श्रीनिवासनले उत्तर सिक्किममा जारी सड़क पुनर्स्थापना र प्रस्तावित राष्ट्रिय राजमार्ग डबल लेनको कामको क्रममा राज्यमा बीआरओले सामना गरिरहेका विभिन्न चुनौतीहरूबारेमा पनि मुख्य सचिवलाई अवगत गराएका छन्। मुख्य सचिव पाठकले उक्त चुनौतीहरुसंग लड़क राज्य सरकारको तर्फबाट सबै प्रकारका सहयोगको आश्वासन दिएका छन्। उल्लेख्य, महानिर्देशक र अतिरिक्त महानिर्देशकले उत्तर सिक्किमको यात्रा गर्ने क्रममा डिक्चु, साङ्कलन, डुङ, नागा, चुङथाङ र लाचेन-लाचुङ सडकमा जारी जीर्णोद्धार कार्यहरूको निरीक्षण गरेका थिए। उनले ठेङको भ्रमण गरी त्यहाँको क्षतिग्रस्त सड़कको विवरण पनि लिएका थिए। आज ब्रमणको अन्तिम दिन उनले पूर्व सिक्किममा चलिरहेका योजनाहरूको पनि निरीक्षण गरे। आफ्नो भ्रमणको समापनमा उनले धेरै चुनौतीहरुबीच पनि सड़कको पुनर्स्थापना कार्यहरू सुचारु भइरहेकोमा खुसी व्यक्त गरे। सिक्किमबाट विदा हुन अघि उनले स्वस्तिक स्थित बीआरओ मुख्यालयमा बिरुवारोपण पनि गरेका छन्।