रोङचोङ: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोङचोङको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा प्रधान इलेभेन च्याम्पियन भयो। लोहापुल (एनएच १०) नजिक रोङचोङ पब्लिक ग्राउण्डमा बुधवार भएको फाइनल म्याचमा प्रधान इलेभेनले नव प्रभात मोटर चालक संगठन, एनएचपीसीविरुद्ध पेनल्टी शूटआउटमा ६-५-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा एनएचपीसी-को टीमबाट पेट्रिकले छैटौं र प्रधान इलेवेनबाट सिद्दु छेत्रीले २८औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।