खरसाङ: शब्द समयको १३४औँ प्रकरण सालबारी बजारको सयपत्री सङ्घको प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रमलाई रम्बास कवि लीलबहादुर सुनारले सञ्चालन गरेका थिए भने उनले नेपालबाट पाल्नुभएका वरिष्ठ कवि, गजलकार असीम सागर लगायत कालीका एफएम ९५.२ का उदघोषक, समाचार वाचक तथा संगीतकार शम्भु त्रिपाठीलाई खादार्पण गरी स्वागत जनाए। स्वागत क्रमलाई अघि बडाउँदै उनले उपस्थित उत्तर बंगाल विश्वविद्यालयका प्राध्यापक डाक्टर मोहन पी दाहाल, रिमला मोक्तान र सेवानिवृत्त सेना कप्तान हेमन्त सुब्बालाई खादा अर्पण गरी स्वागत जनाए।
कार्यक्रमको शुभारम्भ शब्द समयका वरिष्ठ व्यक्तित्व उत्तर बंगाल विश्वविद्यालयका प्राध्यापक डाक्टर सञ्जय बान्तवाको सङ्क्षिप्त वक्तव्यद्वारा भयो भने वरिष्ठ समाजसेवी मिलन रुचाल, डाक्टर मोहन पी दाहाल, वरिष्ठ कवि मोहन ठकुरी र लेखक हेमन्त सुब्बाले आ-आफ्नो छोटो मन्तव्य राखे।
यसै क्रममा वरिष्ठ कवि कथाकार बिर्ख खड्का डुवर्सेलीले संस्मरण सुनाएका थिए। कार्यक्रममा असीम सागर, भविलाल लामिछाने, महेश कुमार सुब्बा, मोनिका प्रधान, निर्मल सिञ्चुरी, प्रभा गुरुङ, नरबहादुर छेत्री, पूर्ण मंगर, गंगा प्रधान, सुवास छेत्री, हेमन्त काँफ्लेले आ-आफ्नो कविता, गजल र गीत सुनाएका थिए। कार्यक्रममा शब्द समयका संस्थापक सदस्य, वरिष्ठ कवि, ज्ञानेन्द्र खतिवडाले कविता सुनाए र समापन वक्तव्य राखे। कार्यक्रममा वरिष्ठ राजनीतिक चिन्तक डीएस बम्जन, सिने जगत्-का प्रतिष्ठित अभिनेता टङ्क शर्मा, प्रसिद्ध संगीतकार रमेश गुरुङ, शब्द समयका संयोजक, कथाकार जीतबहादुर सुनार, गंगाप्रसाद मैनाली साथै भीम थापाको गरिमामय उपस्थिति थियो। अन्त्यमा कार्यक्रमका सञ्चालक, रम्बास कवि लीलबहादुर सुनारले दुई मुक्तक पढेर सुनाए भने उनले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए।