कविता थोरै भन्दा पनि थोरै अनि थोरै मात्र पढ्छुl कुनै बेला कुनै कुनै कविताको शीर्षक र त्यसको तीन चार लाइनले पढ्ने कौतुहल जगाउँछl खरसाङदेखि करिब १७ किलोमिटर टाडो तीनधारे निवासी युवराज सुन्दासको कविता सङ्ग्रह ‘पेण्डुलम’ १४ जुलाई २०२४ मा भएको लोकार्पण कार्यक्रममा पुगेको थिएँl ‘पेण्डुलम’ हातमा पर्दा सरसर्ती पल्टाए अनि अनि मेरो आँखा पर्यो ‘यो हाम्रो खाजा’ कविताको शीर्षक माथिl तीनधारेको गान्धी मेमोरियल हलमा कार्यक्रमको बीचमा कविताको कतिवटा लाइन पढ्दा निक्कै चासो लाग्योl घरमा आएर पढे चियाबारीको सङ्घर्षमय जनजीवनको दृश्य आँखा अघिल्तिर आयोl पेशाले आफू पत्रकार भएको हुनाले चियाबारीको बारेमा धेरै समाचारहरू लेखेको हुँदा र घटना देखेको हुनाले यो कविताले आकर्षित पार्योl
युवराज सुन्दासलाई मैले कविको रुपमा चिनेको होइन, हाम्रो परिचय पत्रकारिताको पेशाबाट शुरु भएको होl म ‘आजभोलि’ दैनिक समाचारपत्र अनि युवराज ‘सुनचरी’ समाचारमा संवाददाता थिएl समाचार सँगै बसेर लेख्थ्यौं, विभिन्न विषयहरूमा विचार-विमर्श गरेर फिचरहरू लेख्थ्यौंl तर युवराज र म बीचमा भने कविताबारे कहिले पनि कुनै किसिमको चर्चा कुराकानी भने भएको छैनl म साहित्यदेखि बाहिरको मान्छे भएको हुनाले पनि कविताबारे कुराकानी नगरेको हुनसक्छl ‘यो हाम्रो खाजा’ कविता पढ्दा युवराजले पहिला ‘सुनचरी समाचार’मा लेखेका फिचरहरूको सम्झना आयोl यस्तै विभिन्न सामाजिक समस्या, शोषण-उत्पीडनको बारेमा उनले विचारमूलक फिचरहरू लेख्ने गर्थेl शिक्षण पेशामा लागे पछि दैनिक समाचार लेख्ने क्रमबाट उनी टाढिए पनि विभिन्न विषयमा लेखहरू लेख्ने क्रमलाई भने निरन्तरता दिएl उनका कविताहरू पढ्दै जाँदा कवि भन्दा बढी पत्रकार नै लाग्यो, यो मेरो व्यक्तिगत सोंच होl
युवराज शिवाखोला स्थित आईएनए मेमोरियल उच्चतर माध्यमिक विद्यालयमा शिक्षकको रुपमा कार्यरत छन्l थुप्रै घाम-पानी, हुरी-बतास झेल्दै उनी तीनधारेबाट राङ्टाङ्, नरबोङ चियाबारी हुँदै मोटरबाइकमा सवारी लिएर आफ्नो कर्मथलो पुग्ने गरेको दुई दशक भन्दा बढी समय भइसकेको छl सोही बाटोमा हिड्दा रुखमा झुन्ड्याईएका श्रमिकहरूको खाजामा उनले श्रमिकहरूको सङ्घर्षमय जीवनको प्रतीकको रुपमा देखेको महसुस हुन्छl पत्रकारिताको क्षेत्रमा चिया श्रमिकहरूको समस्याबारे कलम चलाउने युवराजले त्यही खाजालाई ‘यो हाम्रो खाजा’ कवितामा परिणत गरेl दार्जीलिङ पहाडमा चिया उद्योगले डेढ सय वर्ष नाघिसकेको छl तर श्रमिक, श्रमिकदेखि श्रमिकसम्म मात्र नै सीमित रहँदै आएका छन्l मालिक, राजनीति र सरकार पक्ष तीनतिरबाट नै उनीहरू शोषण र उत्पीडनको शिकार बनेका छन्l ‘हाम्रो खाजा कविता’मा युवराजले श्रमिकहरूको इमान्दारी, पौरख, आर्थिक शोषण, सङ्घर्षमय जीवनलाई दर्शाएक छन्l
‘’यो हाम्रो खाजा, यो हाम्रो भुजा
जीवन संघर्षलाई अघि बढाउने चोखो पवित्र पसिनाको
कमाइ यो हाम्रो खाजाl’’
श्रमिकहरूको सङ्घर्ष, इमानदारीलाई उनले यसरी दर्शाएका छन्l यस्तै चियाबारीको सङ्घर्षमय जनजीवन र आर्थिक अवस्थालाई पनि उनले खाजाबाट नै उजागर गरेका छन् यसरी…
“कमानको गोदाममा थापेको रातो आँटा, बगडा चामल
परिश्रम र सन्तोकको चुल्हामा सेकिएको भुकभुके रोटी
सिलामको अचार, तामा, र फर्सीको मुन्टासँग
साथमा एक बोतल फिक्का नूनको चियासँग
सिमलको फेदमा बसेर खाइन्छ’’
‘पेण्डुलम’ कविता सङ्ग्रहको मूल कविता हो ‘पेण्डुलम’l भारतमा नेपालीहरूको धमनी मानिने दार्जीलिङ पहाडको अवस्था कहिले देशको राजधानी दिल्ली कहिले पश्चिम बंगालको राजधानी कोलकातातिर हेर्नुपर्नेछl घडीको पेण्डुलम जस्तै दार्जीलिङ पहाडको आँखा चल्छ कहिले दिल्लीतिर कहिले कोलकातातिरl आखिर के भारतमा नेपालीहरूको स्थिति पेण्डुलम जस्तै छ? पेण्डुलम जस्तै हल्लिने राजनीति र नेताहरूका कारणले पनि हाम्रो अवस्था पेण्डुलम जस्तै भएको छl यसलाई बुझ्न, चिन्तन गर्न, विश्लेषण गर्न युवराज सुन्दासको नयाँ कविता संग्रह ‘पेण्डुलम’ पढ्नु पर्छl पुस्तक लोकार्पणको कार्यक्रमका संचालक युवा कवि सुप्रेम छेत्री संचालनकै क्रममा यसरी जोशिए, ‘कहिले दिल्लीलाई हेर्दै कहिले कोलकातालाई हेर्दै भारतमा गोर्खाहरू ‘पेण्डुलम’ भइरहेका छन्l’ उनको यो भनाइ ‘पेण्डुलम’ जस्तै हल्लिने राजनीतिले भारतमा नेपालीहरू पीडित, प्रताडित रहेको महसुस हुन्छl यो कविता बुझ्न अलिक गाह्रो छl कुनै बेला कलात्मक चलचित्र, एब्स्ट्रयाक्ट चित्र हेर्दा झट्टै बुझ्न गाह्रो पर्छl बेला बखत युवराजसित मेरो राजनीति र सामाजिक विषयबारे कुराकानी, बहस हुँदा यो कवितालाई धेरथोर ठिम्याउन सके, यस्तो छ ‘पेण्डुलम’को पंक्ति:
“कहाँबाट शुरु गरौँ अनि कहाँ लागि टुंग्याउनेको
पेण्डुलम आँखाहरूले किन सोच्दैनन्?
अनि मस्तिष्कले पनि किन सोच्दैनन्? वर्तमानमा हतार पनि कस्तो
आफ्नै अनुहार दर्पणसम्म
लैजान पनि नसक्ने, अनुहारको किताबमा संसार घुम्ने
हिजोआज दिमाग र आँखाहरूको सम्बन्ध विच्छेद भा’ छ क्यारे!’’
हिजोआज कोही सामाजिक खाल, कोही राजनैतिक खाल ओडेर समाजमा भेडाको भेषमा अड्डा जमाउने ब्वाँसोहरूको कमि छैनl यसैले जनता सधैँ प्रताडित रहन्छन्l यसलाई सबैले महसुस गर्दै आइरहेका छन्l यसैले ‘पेण्डुलम’ कवितामा युवराजको यस पंक्तिलाई नियाल्न सकिन्छ:
‘‘आज जङ्गलमा जङ्गल छैनl
शहरमा शहर छैनl
चितुवा र ब्वाँसोहरूले शहरमा डेरा लगाएका छन्l’’
सामाजिक चिन्ताले छोइएका यस कविता सङ्ग्रहको ‘चोरबाटो’ कवितामा सामाजिक चिन्तालाई प्रमुखता दिएका छन्l हाम्रो सामाजिक, राजनैतिक पक्षको प्रवृत्तिलाई दर्शाउने कविता ‘चोरबाटो’का केही पंक्तिहरू उल्लेख्य छन्, जुन यस्ता छन्:
“अरुहरू फराकिलो, घुमाउरो भा पनि त्यही ठीक बाटो
हिँड्न चाहे लक्ष्यमा पुग्नका निम्ति
धेर समय किन नलागोस्, तर उनीहरू लक्ष्यमा पुगी
विजयको ध्वज फहराउँछन्
तर हामी चेपचापको चोरबाटो रुचाउछौँ
अनि बिचैमा उत्तानो चित् परि लक्ष्यको भ्रम बोकी
विजयी भएको स्वाङ पार्छौंl”
यो ‘चोरबाटो’ कविता अर्को पंक्ति पढ्दा झनै हाम्रो सामाजिक, राजनैतिक परिदृश्य आँखा अघि दर्शाउँछ, जुन यस्तो छ:
‘‘बाबुहरू पनि चोरबाटो हिँड्ने हुँदा लक्ष्यलाई
तिलाञ्जली दिनु परेको थियोl
अनि दाजु पनि त्यही चोर्बातोले बिचैमा बिचल्नी परेका थिए
अनि आज भाइको पनि हालत त्यही छ
उफ! यो चोरबाटो हिँड्ने आदतले पुस्ता पुस्ता सखाप पाऱ्योl’’
यसै कवितामा उनी समाजलाई सही बाटो देखाउने एउटा बुद्धिमानी, दूरदर्शी व्यक्तिको कामना यसरी गर्छन्:
‘’अब, कोही बुद्धिमानी, दूरदर्शी छोरो जन्मिएला
जसले चोरबाटो होइन लामो, घुमाउरो, फराकिलो
राजपथ भएर हामीलाई
हिँड्न सिकाउला, लक्ष्यमा पुऱ्याउला
यो भयो, अब यो चोरबाटो भनी
सही बाटो देखाउलाl “
आफ्नो पत्रकारिताको क्षेत्रमा उनले राजनैतिक विश्लेषणहरू गर्ने गर्छन्l नमस्ते खरसाङ टीभी च्यानलमा पनि उनी राजनैतिक विश्लेषण नै गर्छन्l पत्रकारिताको क्षेत्रबाट राजनीतिलाई नजिकबाट देखेका युवराजले यसमा घुमाउरो प्रहर गर्न पछि परेका छैनन्l समयका चोटहरूबाट कवि युवराज सुन्दास पनि प्रताडित नै रहेको र पीडित नै रहेको कुरा ‘पेण्डुलम’ कविता संग्रहबारे टिप्पणी गर्दै लोकार्पण कार्यक्रममा सुपरिचित साहित्यकार तथा पत्रकार विमल राईले आफ्नो भनाइ राखेका थिएl कवितामा युवराज भन्दा बढी पत्रकारको आत्मा रहेको आफ्नो टिप्पणीमा विमल राईले विचार प्रकट गरेl लोकार्पण कार्यक्रममा विमल राई प्रमुख वक्ताको रुपमा उपस्थित थिएl ‘युवराजलाई कवि भन्दा क्रिटिकल एसे लेख्ने पात्रको रुपमा हेर्छु’, यसरी उनले आफ्नो भनाइ राखेका थिएl
दार्जीलिङको हरेक राजनैतिक सङ्घर्षमा आफ्नै आफ्नै बीचको सामाजिक बहिष्कार, आफ्नैले आफ्नैको घर सल्काउने, आफ्नैले आफ्नैलाई काट्ने घटनाहरू नदेख्ने नसुन्ने दार्जीलिङमा विरलै पाइएलाl दार्जीलिङ पहाडमा जब जाति र माटोको आन्दोलनको उग्र नारा गुन्जिन थाल्छ त्यति बेला सबैको स्मृतिपटमा बितेका हिंसात्मक घटनाहरूको दृश्य सलबलाउन थाल्छन्l अनि सबै जना शान्तिको कामना गर्न थाल्छन्l यस्तै कामना युवराजले ‘फेरि एउटा महाभारत’ कवितामा गरेका छन्l जसको पंक्ति यस्तो छ:
“फेरि एउटा महाभारत यहाँ नहोस्
फेरि भाइ-भाइमाझ युद्ध नहोस्
आफ्नो-पराया, आमा-बहिनी नचिन्ने दुर्योधन
फेरि फेरि यहाँ नजन्मोस्…”
आफ्नै आफ्नैमाझको द्वन्द्वमा केवल आफैलाई नै क्षति भएको छl यति मात्र होइन राजनैतिक, सामाजिक संस्कार, आर्थिक, शैक्षिक, उद्योग सबैमा क्षति भएको छl जसको भर्पाई अझसम्म हुनसकेको छैनl आफ्नै गौरव गाथा गाउँदै आफ्नैले अफ्नैलाई खुकुरी चलाएका घटनाहरू सधैं आलै रहेको छl
हान्ने पनि हाम्रै, थाप्ने पनि हाम्रै
“फायदा हुँदैन कसैलाई, केवल नोक्सानै नोक्सान मात्रै
फेरि एकचोटी हामीलाई?…
विज्ञानले चरमचुली नाघिसक्दा पनि
खुकुरी नै हाम्रो सहारा?
खुकुरी नै हाम्रो चिन्हारी?
कहिले खुल्ने बुद्धिको ढकनी?”
कविताबाटै उनी महाभारतका पात्रहरू अर्जुन, कृष्ण, भीम चाहिँदैन भन्छन् अनि गान्धी, येशु, बुद्धको जन्म फेरि होस् भन्ने कामना गर्छन्:
“यसैले होस्
यहाँ अर्जुन
होस् बरु कृष्ण
चहिएन भीम
महाभारतका पात्रहरू
बरु फेरि एउटा गान्धी जन्मोस्
फेरि बुद्ध, यिशु र अल्लाह जन्मोस्
फेरि अर्को महाभारत नहोस्l”
कविता संग्रह ‘पेण्डुलम’मा युवराजका २७ वटा कविताहरू छन्l यसमा उनले प्राय: जस्ता कविताहरूमा राजनैतिक, सामाजिक, आर्थिक उत्पीडनहरूलाई उजगार गरेका छन्l आफ्नो पत्रकारितामा पनि उनी यस्तै विषयहरूलाई समेटेर कलम चलाउने उनी कवितामा पनि यस्तै किसिमको ढाँचा अपनाएका छन्l अन्तमा यहाँ युवराजको एउटा कविताको केही पंक्ति राखेको छु:
“अघोरीहरूको संसारमा होइन
शमशानको मध्यरातमा होइन
तपाईं, हाम्रो सामाज र संसारमा
मान्छेले मान्छे खाँदो रहेछ
मान्छेले मान्छेको विचार निल्दो रहेछ
मान्छेले मान्छेको काम र नाम पचाउँदो रहेछ…”
+ + +