पाकिम: पाकिमका जिल्लापाल रोह अगावानेले सिक्किम इन्सपायर्स योजनाअन्तर्गत जिल्ला समितिको बैठक डाके। बैठकले जिल्लाअन्तर्गत विभिन्न क्षेत्रमा विकास योजनालाई रफ्तार दिने विषयबारे छलफल गरियो। सिक्किम इन्स्पायर्स कार्यक्रमले समावेशी विकासलाई उच्च प्रमुखता दिँदै महिला र युवाहरूलाई आत्मनिर्भऱ बनाउने दिशामा काम गर्दै आएको छ। यसअन्तर्गत महिला र युवाहरूको आर्थिक विकासमा गम्भीरता देखाउन योजनालाई प्रभावी बनाउने तयारी जिल्ला प्रशासनले गरेको छ। बैठकमा जिल्लापालले अघिल्लो बैठकमा पारित प्रस्तावमाथि समीक्षा गरे। मुख्यगरि विकासको सम्भावना भएका गैरकृषि क्षेत्रहरू पहिचान गर्ने र त्यसको लागि योजनाहरू तयार पार्ने विषयमा बैठकले जोड़ दिएको थियो। यसअन्तर्गत पाक्योङ जिल्लामा तीनवटा क्षेत्र पहिचान गरियो। जसमा साहसिक पर्यटन, फेसन उद्योग र खाद्य प्रशोधन उद्योग सामेलरहेका छन्। यस अतिरिक्त जनऔषधीय केन्द्रहरू स्थापना गर्ने, सोलार प्यानल र मोबाइल मरम्मति प्रशिक्षण केन्द्र बनाउने निर्णय गरेको छ। छलफलको क्रममा ग्राम पञ्चायत स्तरमा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय राखेर योजना बनाउने तय गरियो। बैठकमा जिल्ला प्रशासनका अधिकारी, राज्य क्षमता विकास संस्थान, खेलकूद एवं युवा मामिला विभाग, महिला तथा बाल विकास विभाग र शिक्षा विभागका प्रतिनिधिहरू उपस्थित थिए।