पाकिम: शिक्षा विभागको समग्र शिक्षा जिल्ला परियोजनाअन्तर्गत शारीरिक शिक्षा शिक्षकहरुको लागि आत्मरक्षा कौशल विकास प्रशिक्षण सम्पन्न भयो। प्रशिक्षण खेलकुद तथा युवा मामिला विभागको सहकार्यमा आयोजना गरिएको हो। ६ सेप्टेम्बरदेखि शुरु भएको प्रशिक्षण आज सम्पन्न गरियो। प्रशिक्षण तीन स्थानहरू क्रमैले सुमिन सरकारी सेकेण्डरी स्कूल, सुदुङ्लाखा सिनियर सेकोण्डरी स्कूल र पाक्योङको वन विभागीय कार्यालयमा सम्पन्न भएको थियो। यो प्रशिक्षण समग्र शिक्षाको रानी लक्ष्मीबाई आत्मरक्षा शिक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको थियो। यसअन्तर्गत प्राथमिक र माध्यमिक विद्यालयस्तरका छात्राहरूलाई आवश्यक आत्मरक्षा क्षमता विकासबारे जानकारी प्रदान गरिनेछ। कार्यक्रममा पाक्योङ जिल्लाका ५९ विद्यालयका शारीरिक शिक्षा र खेलकुद शिक्षकहरुको सहभागिता रहेको थियो। प्रशिक्षणमा आत्मरक्षा प्रविधि सम्बन्धी प्राविधिक सत्रहरूमा ताइक्वान्डोमा ब्ल्याक बेल्ट सुनील सुब्बा र बक्सिङ प्रशिक्षक शर्मिला राईले नेतृत्व गरेका थिए। शिक्षकहरूले कराते, ताइक्वाण्डो र किकबक्सिङका प्रविधिहरूबारे जानकारी लिएका छन्।