गान्तोक: सीमा सडक संगठन (बीआरओ) र सिक्किम सरकार बीच मिन्टोग्याङमा आज मुख्यमन्त्री प्रेम सिंह तामाङको अध्यक्षतामा उच्च स्तरीय बैठक भयो। बैठकमा सडक तथा पुल विभाग मन्त्री एन बी दाहाल र मुख्यमन्त्रीका प्रमुख सचिव एसडी ढकाल सहभागी थिए। बीआरओको प्रतिनिधित्व महानिदेशक बोर्डर रोड लेफ्टिनेन्ट जनरल रघु श्रीनिवासन र प्रमुख इन्जिनियर प्रोजेक्ट स्वस्तिक ब्रिगेडियर मनोज गुप्ताले गरेका थिए। सडक तथा पुल विभागका सचिव डी डडुललगायत विभागका वरिष्ठ अधिकारीहरुको पनि उपस्थिति रहेको थियो। बैठकमा सिक्किमको विकास र राष्ट्रिय सुरक्षालाई थप सुदृढ पार्न पूर्वाधार सुदृढीकरण अनि बीआरओ र राज्य सरकार बीचको सहयोग बढाउने कुरामा ध्यान केन्द्रित गरी धेरै महत्त्वपूर्ण र रणनीतिक मुद्दाहरू चर्चा गरियो। सदनले उत्तर सिक्किममा विशेष ध्यान दिएर संवेदनशील र पहिरो क्षेत्रहरूको लागि तत्काल स्थायी समाधानहरू पहिचान गर्ने बारे पनि चर्चा गर्यो। बैठकले प्रभावित क्षेत्रका महत्वपूर्ण र रणनीतिक बिन्दुको संयुक्त निरीक्षण गरी व्यापक मूल्यांकन र कारबाही गर्ने निर्णय गरेको छ। मुख्यमन्त्रीले सबै सम्बन्धित अधिकारीहरूलाई संयुक्त निरीक्षणलाई छिटो बनाउन र आवश्यक कारबाहीको शीघ्र कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरे। उनले राज्यभरका क्षतिग्रस्त सडक तुरुन्तै पुनर्निर्माण गर्नुपर्नेमा गहिरो चासो व्यक्त गर्दै सफल चर्चामा उपस्थित भएकोमा सीमा सडक महानिर्देशक, सीमा सडकका प्रमुख इन्जिनियर र उनको टोलीको अमूल्य सुझावका लागि कृतज्ञता व्यक्त गरे। -आईपीआर