प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार लेखनाथ छेत्रीलाई प्रदान

IMG-20241001-WA0280

सोनादा : सुकना साहित्यिक सांस्कृतिक संस्थानको रजत जयन्ती एवम् संस्थानद्वारा शुरू गरेको प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार अलङ्करण समारोह सुकना खण्ड दुईस्थित सार्वजनिक भवनमा वरिष्ठ साहित्यकार डा गोकुल सिन्हाको अध्यक्षतामा एवम् वरिष्ठ आख्यानकार विन्द्या सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। यस अवसरमा फूलाङ्गे उपन्यासको निम्ति युवा सर्जक लेखनाथ छेत्रीलाई प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार 2024 प्रदान गरिएको छ। यस अन्तर्गत उनलाई नगद एघार हजार एक सय एक रुपियाँ, स्मृति चिन्ह, सम्मान पत्र, अङ्ग वस्त्र, शिरशोभा आदि प्रदान गरिएको थियो। उक्त पुरस्कार नरबहादुर दाहालका ज्येष्ठ सुपुत्र युवराज दाहालका परिवारले प्रदान गरेका थिए। समारोहका अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीबाट सो पुरस्कार दिएका थिए। पुरस्कार प्रापक लेखनाथ छेत्रीले आफ्नो सम्बोधनमा आफूले प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार प्राप्त गर्नु आजसम्मको सबैभन्दा ठूलो उपलब्धि रहेको र यस पुरस्कारले भविष्यमा अझ ठूल्ठूला उपलब्धिहरू हाँसिल गर्ने प्रेरणा प्राप्त गरेको कुरो उनले बताए। पुरस्कार नगद राशिले होइन तर पुरस्कार आफैआफमा बहुमूल्य हुने कुरो समारोह अध्यक्ष डा गोकुल सिन्हाले व्यक्त गरेका थिए। उनले नरबहादुर दाहाल जस्ता साहित्यिक महारथिको स्मृतिमा यसरी पुरस्कारको प्रचलन शुरु गरेर उनलाई श्रद्धाञ्जली दिने काम गरेकोमा सुकना साहित्यिक सांस्कृतिक संस्थानको सराहना गरे। संस्थानद्वारा प्रकाशित रजत जयन्ती स्मारिकाले सुकनाको इतिहास बोक्न सकेको अनुभव भएको उनले जनाए। डा सिन्हाले लेखनाथ छेत्रीकृत फुलाङ्गे बारेमा पनि चर्चा गरे। प्रमुख अतिथि विन्द्या सुब्बाले आफ्नो सम्बोधनमा पुरस्कारका विविध श्रृङ्खलाहरूबीच नरबहादुर दाहाल स्मृति पुरस्कारको पनि छुट्टै महत्व रहेको कुरो बताए। पुरस्कार शुरू गर्नु सजिलो भएतापनि यसलाई निरन्तरता दिनु अति गाह्रो हुने भएकोले यसको अक्षय कोष तयार गर्न आवश्यक रहेको कुरो उनले बताइन्। उनले लेखनाथ छेत्रीकृत फुलाङ्गेको भाषा शैलीको सराहना गरिन् साथै सुकना साहित्यिक सांस्कृतिक संस्थानले यसरी पच्चीस वर्षसम्म निरन्तर रूपमा भाषा, साहित्य , संस्कृतिको जगेरा गर्दै आइरहेकोमा प्रशंसा गरिन्। समारोहका विशिष्ट अतिथि एवम् जीटीएका सूचना एवम् संस्कृति विभागका भारप्राप्त सभासद अनोश थापाले नरबहादुर दाहालको साहित्यिक व्यक्तित्वको चर्चा गर्दै उहाँ जस्ता विशिष्ट साहित्यिक- सामाजिक व्यक्तिको स्मृतिमा पुरस्कारको प्रथा शुरु गरेर संस्थानले हामी जीटीएलाई पनि बाटो देखाएकोमा खुशी व्यक्त गर्दै आगामी वर्षदेखि नरबहादुर दाहाल स्मृति पुरस्कार सुकना साहित्यिक सांस्कृतिक संस्थानसंग मिलेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना एवम् सांस्कृतिक विभागले नै दिने उनले घोषणा गरे। पुरस्कार प्रायोजकका पक्षमा नरबहादुर दाहालका सुपुत्री इन्दिरा राईले मन्तव्य राख्दै एउटा लघु कथा पनि पठन गरिन्। समारोहमा नरबहादुर दाहालको परिचय सागर शर्माले अनि लेखनाथ छेत्रीको परिचय देवराज शर्माले दिएका थिए। संस्थानको रजत जयन्तीको उपलक्ष्यमा संस्थानद्वारा प्रकाशित रजत जयन्ती स्मारिकाको पनि विमोचन गरिएको थियो। संस्थानका मूलसचिव जेबी बस्नेतले आफ्नो स्वागत सम्बोधनमा संस्थानका संस्थापक सचिव स्व एसके छेत्री, पूर्व सभापति नरबहादुर दाहाल लगायत दिवङ्गत आत्माहरूको स्मरण गर्दै रजत जयन्ती वर्षसम्म यसरी संस्थानलाई अघि बढाउँदै आइरहेका विभिन्न समयका पदाधिकारीहरू र सदस्यहरूप्रति आभार प्रकट गरे साथै नरबहादुर दाहाल स्मृति पुरस्कार चयन प्रक्रिया र रजत जयन्ती स्मारिका प्रकाशनसंगै समारोहको आयोजनाको लागि सहभागी, सहयोगी एवम् समारोहमा उपस्थित सबैप्रति कृतज्ञता प्रकट गर्दै स्वागत जनाएका थिए। रजत जयन्ती स्मारिकाको प्रकाशन बारेमा प्रधान सम्पादक मेघनाथ छेत्रीले जानकारी दिदैँ  स्मारिकालाई सुकनाको विशेषाङ्क तथा सुकनाको शव्दचित्रको रूपमा तयार गरिने प्रयास गरेको कुरो उनले बताए। समारोहमा संस्थानको रजत जयन्ती विशिष्ट सेवा सम्मान कोषाध्यक्ष कृष्ण छेत्रीलाई प्रदान गरिएको थियो।उनले पच्चीस वर्षदेखि निरन्तर रूपमा संस्थानको कोषाध्यक्षको सेवा पुर्याउदै आइरहेकोमा उनलाई उक्त सम्मान दिइएको थियो। यसरी संस्थानका पदाधिकारी तथा सुकनाका साहित्यिक व्यक्तित्वहरू मातृका गजमेरलाई  जीटीएबाट भानुभक्त पुरस्कार, शिबु छेत्रीलाई सिक्किमबाट  स्रष्टा पुरस्कार र राजा पुनियानीलाई कालेबुङबाट भाइचन्द पुरस्कार अनि नेपाल बिर्तामोडबाट नेम्माङ स्मृति पुरस्कार प्राप्त भएवापत संस्थानको तर्फबाट पनि सम्मान जनाइएको थियो। यसरी नै नेपाली विषयमा माध्यमिक र उच्चतर माध्यमिक परीक्षामा  सर्वोच्च अङ्क हासिल गर्ने वेकन स्कूल सुकनाका अनुष्का सिन्हा, सुकना हाई स्कूलका भावना खनाल, समीक्षा छेत्रीलाई पनि पुरस्कृत गरिएको थियो भने स्मारिका प्रकाशनार्थ  आर्थिक सहयोगी एवम् विज्ञापन दाताहरू र संस्थानका सम्पूर्ण पदाधिकारीहरू र सदस्यवृन्दलाई सम्मानस्वरूप स्मृति चिन्ह प्रदान गरेका थिए। समारोहमा क्षेत्रीय सभासद परेश तिर्की, पुरस्कार प्रायोजक युवराज दाहाल, श्रीमती छिरीङ दाहाल, युवराज काफ्ले, मुक्ति उपाध्याय  बराल, ज्ञानेन्द्र खतिवडा, मिलन रुचाल, सुनिल थापा(उप प्रधान, सुकुना ग्राम पञ्चायत), राजबहादुर राई, मोहन ठकुरी, हेमन्त सुब्बा, उर्मिला घिसिङ, मातृका गजमेर   आदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। संस्थानका सभापति सूर्यमणि शर्माले धन्यवाद यापन गरेका थिए। संस्थानका संस्थापक सचिव स्व. एस के छेत्री र पूर्व सभापति एवम् साहित्यकार स्व नरबहादुर दाहालको तस्वीरमा माल्यार्पण एवम् दीप प्रज्वलन एवम् दिवङ्गत आत्माहरूको स्मरणमा एक मिनटको मौन धारण भई शुआरम्भ भएको समारोहमा नानीहरूले सरस्वती नृत्य पनि प्रस्तुत गरेका थिए। 

समारोहलाई नवराज छेत्री, सागर शर्मा, राजा पुनियानी, मेघनाथ छेत्रीले सञ्चालन गरेका थिए। समारोहमा सबैलाई मध्यान्ह भोजनको व्यवस्था सुनिल थापा उप प्रधान, सुकना ग्राम पञ्चायत) ले गरेका थिए। समारोहमा दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ, सिलगढी, सालबारी, सोनादा, तीनधारेे, सैनिकपुरी लगायत सुकना आदि स्थानबाट गण्यमान्य  व्यक्तिहरू र विभिन्न सङ्घ – संस्थाका पदाधिकारीहरू उपस्थित थिए।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement