मुम्बई: सदाबहार अभिनेता गोविन्दाका फिल्म कसले नहेरेका छैनन् र? उत्कृष्ट अभिनय र अद्भुत कमिक टाइमिङका राजा मानिने गोविन्दासँग जोडिएको एउटा दु:खलाग्दो खबर आज सुनिएको छ। उनको खुट्टामा गोली लागेको खबर सुनेपछि लाखौं फ्यानहरु मर्माहत भएका छन्। उनका फ्यानहरुको मनमा फेरि एक पटक उनीहरुको ‘हिरो नम्बर १’ बारे जान्नको जिज्ञासा बढेको छ। गोविन्दासँग सम्बन्धित प्रश्नहरू उठिरहेका छन् कि उनी चलचित्रबाट टाढा रहँदा पनि कसरी विलासी जीवन बिताइरहेका छन् र उनको आम्दानीको स्रोत के छ भन्ने जिज्ञासा सबैमा छ।
उनको पूरा नाम गोविन्द अरुण आहुजा हो। गोविन्दाले सन् १९८६ मा फिल्म ‘आई लभ ८६’ बाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए। उनको पहिलो फिल्म हिट साबित भयो त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन। एकपछि अर्को सुपरहिट फिल्म दिएका गोविन्दा पनि २००४ मा कांग्रेसको टिकटमा संसदमा पुगेका थिए। तर, राजनीतिले उनलाई आकर्षित गरेन र उनी फिल्मी दुनियाँमा फर्किए। आज गोविन्दा फिल्मबाट टाढा भए पनि उनको कमाईका सबै विकल्पहरु सहज रुपमा चलिरहेका छन्। गोविन्दा फिल्ममा खासै सक्रिय नभए पनि होटल व्यवसाय र विज्ञापनबाट वार्षिक १६ करोडभन्दा बढी कमाउँछन्। आज पनि गोविन्दाले एउटा फिल्मका लागि ५ देखि ६ करोड रुपियाँ पारिश्रमिक लिने गरेका छन् भने एन्डोर्समेन्टका लागि पनि प्रति ब्राण्ड २ करोडभन्दा बढी लिने गरेका छन्। गोविन्दाको अभिनयमा जति राम्रो टाइमिङ छ, उनले आफ्नो लगानीमा पनि उत्तिकै राम्रो टाइमिङ देखाएका छन्। यही कारणले गर्दा आज गोविन्दाको नेटवर्थ लगभग १७० करोड रुपियाँ पुगेको छ। उनको फिल्म हलमा नहेर्नु होला तर बर्षेनी करोडौं कमाउने क्रम रोकिएको छैन। उनको आम्दानीको मुख्य स्रोत विज्ञापन, व्यापार र घरजग्गा छ।