खरसाङ: तीनधारे महानदी सिविटार चियाबारी र गिताङ्गे चियाबारीमा बीस प्रतिशत बोनसको मांगमा धरणा प्रदर्शन गरिएको छ। सिविटार चियाबारीको पाँच नम्बरस्थित कार्यालय अघि भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन सिविटार चियाबारी युनिटको आयोजनामा श्रमिकहरूले बीस प्रतिशत बोनसको मांगमा धरणा प्रदर्शन गरेका छन्। यस अवसरमा श्रमिकहरूले काम गरेको पैसा मालिकवर्गले बीस प्रतिशत गरेर झट्टै दिनु पर्ने मांगमा नाराहरू लगाएका थिए। श्रमिकहरू कार्यालय अघि भेला भएर नाराहरूको साथमा धरणा प्रदर्शन गरेका थिए। पहाड़को आठवटा श्रमिक संगठनहरूको समिति पार्वत्य श्रमिक संगठन समन्वय मञ्चको निर्देशनमा बीस प्रतिशत बोनसको मांगमा हिजो १२ घण्टा बन्दपछि आजदेखि हरेक बगानको कारखाना र कार्यालय अघि प्रदर्शन शुरु गरिएको छ। उक्त धरणा प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समिति सदस्य कुसाङ लामाले चियाबारी श्रमिकहरूको बीस प्रतिशत बोनसको मांगमा आजदेखि धारावाहिक धरणा प्रदर्शन गर्ने आन्दोलन शुरु भएको छ भनी बताउँदै बीस प्रतिशत बोनसको मांगमा सिविटार चियाबारीको कार्यालय अघि श्रमिकहरूद्वारा धरणा प्रदर्शन गरिएको जनाए। उनले श्रमिकहरूलाई मालिकवर्गले झट्टै बीस प्रतिशत बोनस दिनुपर्छ भनी बताएका छन्। त्यसरी नै सिविटार चियाबारीको श्रमिक सुमन प्रधानले जबसम्म मालिक पक्षले बीस प्रतिशत बोनस दिन्दैन तबसम्म सिविटार चियाबारीको कार्यालय अघि धरणा प्रदर्शन जारी रहने बताएका छन्। यसै क्रममा एकजना श्रमिक पिंकी राईले हामी श्रमिकहरूले बर्खा झरी नभनी काम गरेको पैसा मालिकवर्गले बीस प्रतिशत गरेर झट्टै दिनु पर्ने मांगमा आज सिविटार चियाबारीको कार्यालय अघि धरणा प्रदर्शन गरिएको बताएका छन्। उनले हामीले काम गरेको पैसा पनि जहिले पनि दशैं आउने बेलामा यसरी धरणा प्रदर्शन गर्नु पर्ने बाध्यता छ र अब मालिकवर्गले चियाबारी श्रमिकहरूलाई झट्टै बोनस बीस प्रतिशतको दरले वितरण गर्नुपर्छ भनी मांग गरेकी छन्।
त्यसरी नै गिताङ्गे चियाबारीमा पनि बीस प्रतिशत बोनसको मांगमा श्रमिकहरूद्वारा धरणा प्रदर्शन गरिएको छ। उक्त धरणा प्रदर्शनमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा उपस्थित रहेका थिए। यस धरणामा भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको उपाध्यक्ष एंव तीनधारे महानदी समष्टि जोनल कमिटीको सांगठनिक सचिव जनक छेत्रीले सम्बोधन गर्दै चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको दरले हुनुपर्छ भन्ने मांगमा पहाड़मा रहेको आठवटा श्रमिक संगठनहरूको समिति पार्वत्य श्रमिक संगठन समन्वय मञ्चको निर्देशनमा हिजो १२ घण्टा पहाड़ बन्दपछि आजदेखि हरेक बगानको कारखाना र कार्यालय अघि धरणा प्रदर्शन शुरु गरिएको बताएका छन्। उनले समन्वय मञ्चको निर्देशनमा चियाबारी श्रमिकहरूले बीस प्रतिशत बोनस नपाएसम्म धरणा प्रदर्शन जारी रहनेछ किनभने हामीलाई चाहिएको बीस प्रतिशत बोनस हो भनी बताएका छन्। छेत्रीले यसपाली हामी हार्नु हुँदैन र यसको लागि हामी सम्पूर्ण श्रमिकहरू एक हुनुपर्छ भनी बताएका छन्। यस धरणा प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो गिताङ्गे बुथ कमिटीको सभापति पुरण छेत्रीले चियाबारी श्रमिकहरूको बीस प्रतिशतको दरले बोनस पाउनुपर्छ भन्ने मांगमा आज गिताङ्गे चियाबारीमा पनि धरणा प्रदर्शन गरिएको जानकारी गराउँदै यस धरणामा गिताङ्गे चियाबारीको सबै श्रमिकहरूले सहभागिता जनाएको बताएका छन्।