कानपुर: भारतले चमत्कारी प्रदर्शन गर्दै दोस्रो क्रिकेट टेस्ट म्याचमा बंग्लादेशलाई ७ विकेटले पराजित गरी दुईवटा म्याचको सीरीज २-०-ले जित्यो। भारतलाई म्याचको पाँचौं तथा अन्तिम दिन जीतको निम्ति केवल ९५ रनको लक्ष्य हासिल भएको थियो। भारतले पनि आत्मविश्वासको साथ खेल्दै लगभग एक घण्टामै १७.२ ओभरमा ३ विकेटको नोक्सानमा ९८ रन बनाएर यादगार जीत हासिल गऱ्यो। यहाँको ग्रीन पार्कमा शुक्रवार म्याचको पहिलो दिन केवल ३५ ओभरको खेल भएको थियो। त्यसपछि दोस्रो र तेस्रो दिन वर्षाले गर्दा कुनै खेल भएन। त्यहाँबाट सोमवार खेल शुरु भएपछि रोहित शर्माको कप्तानीमा रहने टीमले ड्र-तर्फ अग्रसर टेस्टलाई आफ्नो पक्षमा पार्न आक्रामक क्रिकेट खेल्न शुरु गऱ्यो। त्यसैको परिणामस्वरूप भारतले आज आधा दिनभन्दा अधिकको खेल बाँकी रहँदा नै म्याच र सीरीज जित्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै बंग्लादेशले आफ्नो पहिलो ईनिंग्समा २३३ रन बनाएको थियो। त्यसपछि भारतले आक्रामक ब्याटिंग गर्दै ९ विकेटमा २८५ रन बनाएर पहिलो ईनिंग्स घोषित गरेको थियो। यसरी भारतलाई पहिलो ईनिंग्सको आधारमा ५२ रनको बढ़त हासिल भएको थियो। त्यसपछि आज बंग्लादेशको दोस्रो ईनिंग्स केवल १४६ रनमा समाप्त हुँदा भारतलाईॊ ९५ रनको सजिलो लक्ष्य प्राप्त भएको थियो। यसरी भारतले पूरा २ दिन पनि नखेली असम्भव लागिरहेको जीतलाई हासिल गरेर देखायो।
भारतको दोस्रो ईनिंग्समा ओपनर यशस्वी जयसवालले सर्वाधिक ५१ रन बनाए। कप्तान रोहित शर्मा (८ रन) र शुभमन गिल (६ रन) चाँड़ै आउट भए पनि जयसवालले विराट कोहलीसँग तेस्रो विकेटको निम्ति ५८ रनको पार्टनरशीप गरी स्कर ९२-सम्म पुऱ्याए। जयसवालले आउट हुन अघि ४५ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। त्यसपछि कोहली र रिषभ पन्तले मिलेर टीमलाई जीत दिलाए। कोहली २९ र पन्त ४ रनमा अविजित रहे। बंग्लादेशका बलरहरूमा मेहदी हसन मिराजले २ र ताइजुल इस्लामले १ विकेट लिए। यसअघि आज बिहानको सेशनमा सोमवारको स्कोर २ विकेटमा २६ रनदेखि अघि खेल्न शुरु गर्ने बंग्लादेशको दोस्रो ईनिंग्स १४६ रनमा समाप्त भयो। ओपनर शादमान इस्लामले सर्वाधिक ५० रन बनाए। उनले १०१ बल खेलेर १० वटा चौका लगाए। यसबाहेक मुश्फिकुर रहीमले ३७ रनको योगदान दिए। बंग्लादेशको स्कोर एक समय ३ विकेटमा ९१ रन रहेको थियो अनि टीमले केवल ३ रन थपेर ४ विकेट गुमाउँदा भारतको काम सजिलो भयो। बंग्लादेशको तल्लो क्रममा कसैले पनि उल्लेखनीय स्कोर बनाउन सकेनन्। बंग्लादेशको दोस्रो ईनिंग्समा भारतीय बलरहरुमा जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले ३-३ विकेट लिए। जयसवाललाई प्लेयर अव् द म्याच अनि अश्विनलाई प्लेयर अव् द सीरीज चयन गरियो।