भद्रपुर: काठमांडू प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ। यसका लागि जिल्ला प्रहरी परिसर काठमांडूले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ। सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमांडूलाई विभिन्न १४ इलाकामा विभाजन गरेर प्रहरी डिएसपीको नेतृत्वमा प्रत्येक युनिटमा १०/१० जनाको टोली बनाइ परिचालित गरिने काठमांडू प्रहरी प्रमुख प्रहरी एसएसपी वसन्त रजौरेले जानकारी दिए।
परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले दशैं, तिहार, छठलगायत चाडपर्वका लागि काठमांडू जिल्लाभित्र कुल तीन हजार सात सय ६५ जनशक्ति परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरी डिएसपी रजौरेले जानकारी दिएका छन्।
घटनास्थलमा १० मिनेटभित्र पुग्ने गरी ‘इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम’ (इ–क्युआरटी), सिआरभी र मोबाइल टोलीलाई तयारी अवस्थामा राखिएको छ।
घटनास्थलको तस्वीर तथा श्रव्यदृश्य लिन ‘गोप्रो क्यामेरा’, तैनाथीको अवस्था बुझ्न जिपिए र तत्काल रेस्पोन्सका लागि आवश्यक सामग्रीसहित इक्युआरटी टिमलाई परिचालित गरिएको छ। घटनास्थलमा थप प्रतिकार्यका लागि बढीमा ३० मिनेटभित्र यथेष्ठ प्रहरी तैनाथी हुने व्यवस्था मिलाइएको छ।
प्रहरीले अपराध हुनसक्ने सम्भावित क्षेत्रमा पैदल, सवारी र ड्रोनमार्फत गस्ती गर्नेछ। प्रहरीले स्थानीय बासिन्दाका खाली घर, आर्थिक कारोबार हुनसक्ने स्थान, सरकारी कार्यालय, भीडभाड हुने स्थान, गरगहना पसल, बसका टिकट काउन्टर, धार्मिकस्थल, बसपार्कलगायतलाई सुरक्षा क्षेत्रका रुपमा पहिचान गरेको छ ।सम्भावित क्षेत्रमा सूचना सङ्कलनका लागि सादा पोसाकमा ३८ टोली परिचालित हुनेछन्। ‘सिल एण्ड सर्च’का लागि २८ तथा ‘एम्बुसिङ’ र निगरानीका लागि २२ टोली परिचालित गर्ने प्रहरीको तयारी छ।