कानपुर: भारतले बंग्लादेशविरुद्ध जारी दोस्रो टेस्ट म्याचको पहिलो तीन दिन वर्षाले वाधा पुऱ्याएपछि सोमवार अलग रणनीतिको साथ खेल्दै जीतको सम्भावना बनायो। ग्रीन पार्कमा जारी दोस्रो टेस्ट म्याचको पहिलो दिन वर्षाले गर्दा केवल ३५ ओभरको खेल भएको थियो। त्यसपछि शनिवार र आइतवार पनि वर्षाले खेल हुन सकेन। यसैकारण टेस्ट म्याच ड्र हुने लागिरहेको थियो तर रोहित शर्माको आक्रामक कप्तानीले म्याचलाई रोमाञ्चक मोड़मा पुऱ्याएको छ। सोमवार बंग्लादेशको पहिलो ईनिंग्स लञ्च ब्रेकपछि २३३ रनमा समाप्त भयो। त्यसपछि भारतले टी२० क्रिकेटको मिजासमा ब्याटिंग गर्दै ३४.४ ओभरमा ९ विकेटमा २८५ रन बनाएर आफ्नो पहिलो ईनिंग्स घोषित गऱ्यो। भारतले आज टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा तेज ५०, १०० र २०० रनको रेकर्ड बनायो। पहिलो ईनिंग्सको आधारमा ५२ रनले पछाड़िएपछि बंग्लादेशले दोस्रो ईनिंग्स शुरु गऱ्यो अनि चौथो दिनको खेल समाप्त हुँदासम्म २ विकेटमा २६ रन बनायो। दिनको खेल समाप्त हुँदासम्म ओपनर शादमान इस्लाम ७ र मोमिनुल हक शून्य रनमा अविजित थिए। आज बंग्लादेशको दोस्रो ईनिंग्समा दुवै विकेट रविचन्द्रन अश्विनले लिए।
बंग्लादेशले आज पहिलो दिन (शुक्रवार)-को स्कोर ३ विकेटमा १०७ रनदेखि अघि खेल्न शुरु गऱ्यो अनि मोमिनुल हकको शतक (अविजित १०७ रन)-को सहायताले २३३ रन बनायो। मोमिनुलले १७ वटा चौका र एउटा छक्का लगाए। उनलाई छोड़ेर बंग्लादेशको पहिलो ईनिंग्समा अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। भारतीय बलरहरूमा जसप्रीत बुमराहले सर्वाधिक ३ विकेट लिए। त्यसपछि भारतले म्याचमा रोमाञ्च थप्न आफ्नो पहिलो ईनिंग्समा तेजीको साथ रन बनाउन शुरु गऱ्यो। कप्तान रोहित र यशस्वी जयसवालले मिलेर पहिलो विकेटको निम्ति केवल ३.५ ओभरमा ५५ रन जोड़े। रोहित ११ बलमा ३ वटा छक्का र एउटा चौकाको साथ २३ रन बनाएर आउट भए। रोहित आउट भएपछि यशस्वीले शुभमन गिल (३९ रन) – सँग मिलेर रन बनाउन जारी राखे। यशस्वीले केवल ३१ बलमा अर्द्धशतक पूरा गरे। उनी ५१ बलमा १२ वटा चौका र २ वटा छक्काको साथ ७२ रन बनाएर आउट भए। गिलले पनि ३६ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए। पछिबाट यशस्वी, गिल र रिषभ पन्त (९) आउट हुँदा स्कोर ४ विकेटमा १५९ रन रहेको थियो। त्यहाँबाट विराट कोहलीले केएल राहुलसँग मिलेर स्कोर २४६-सम्म पुऱ्याए। कोहलीले ३५ बल खेलेर ४ वटा चौका र एउटा छक्काको सहायताले ४७ रन बनाए। यसरी राहुलले ४३ बल खेलेर ७ वटा चौका र २ वटा छक्काको सहायताले ६८ रन बनाए। भारतले ९ विकेटमा २८५ रनको स्कोरमा आफ्नो पहिलो ईनिंग्स घोषित गऱ्यो। बंग्लादेशका बलरहरूमा शाकिब अल हसन र मेहदी हसन मिराजले ४-४ विकेट लिए। भारतले आज ८.२२ रन प्रति ओभरको गतिले रन बनायो।