बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले शेख हसिनालाई सत्ताबाट हटाउने षड्यन्त्र रचिएको स्वीकार गरेका छन्। अमेरिकामा क्लिन्टन ग्लोबल इनिसिएटिभको बैठकलाई सम्बोधन गर्दै युनुसले बंगलादेशका विद्यार्थी नेताहरूको प्रशंसा गरे। उनले बंगलादेशको नयाँ रूपको तयारी गरिरहेको बताए। बैठकलाई सम्बोधन गर्दै युनुसले भने, ‘यो प्रदर्शन एकदमै सुनियोजित आन्दोलन थियो, जसमा कसैलाई पनि अगुवा बनाएर पक्राउ गरिएको थिएन, जसका कारण देशभरका युवालाई प्रेरणा मिल्यो र यो आन्दोलन झन् सशक्त बन्यो।‘ यसपछि युनुसले भेटमा सहयोगी महफुज आलमसँग परिचय गराउँदै यसमा आफूहरू दुवै जिम्मेवार भएको बताए। युनुसले भने, -‘महफुज आन्दोलनको पछाडि मस्तिष्क थिए। सम्पूर्ण आन्दोलनको पछाडि महफुजको दिमाग थियो। यो अत्यन्त सावधानीका साथ डिजाइन गरिएको थियो र नेता को हो भन्ने कसैलाई थाहा थिएन।’
यसपछि युनुसले सबै विद्यार्थी नेताहरूलाई ताली बजाएर प्रशंसा गर्दै भविष्यको लागि शुभकामना व्यक्त गरे। रिपोर्टका अनुसार मुख्य सल्लाहकारले शेख हसिनाको सरकारमा विद्यार्थी नेताहरूमाथि भएको आक्रमणको बारेमा पनि उल्लेख गरेका छन्। गोलीबारी भए पनि यी नेताहरु पूर्ण बहादुरीका साथ उभिएको उनले बताए। युनुसको सम्बोधनका क्रममा उनीसँगै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन पनि थिए। शेख हसिनाले ५ अगस्तमा राजीनामा दिएकी थिइन्। बंगलादेशमा हिंसा भड्किएपछि पूर्वप्रधानमन्त्री शेख हसिना अगस्ट ५ मा भारत गइन्। गत २२ अगस्तमा अन्तरिम सरकारले हसिना र उनका परिवारका सदस्यको कूटनीतिक पासपोर्ट पनि रद्द गरेको थियो। यसपछि ८ अगस्तमा बंगलादेशमा अन्तरिम सरकार गठन भयो। नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई यो सरकारको प्रमुख सल्लाहकार बनाइएको थियो।