भद्रपुर: मेची राजमार्गको हेवा taखोलाको बेलिब्रिज बगाएपछि ताप्लेजुङ र पाँचथरका याङवरक, हिलिहाङ तथा फालेलुङ गाउँपालिकाको सडक सम्बन्धविच्छेद भएको छ। वैकल्पिक सडकको रूपमा रहेको तमोर कोरिडोरमा पनि पुल नभएकाले सो क्षेत्रका बासिन्दा समस्यामा परेका छन्। ‘खोलामा पुल बगाएपछि हिँडेर आइयो। गर्मी उस्तै छ, बाटो उस्तै,’ मेची राजमार्गमा भेटिएका यात्रु धनकुमार राईले भने।
हेवा खोलामा अस्थायी डाइभर्सन बनाउने काम पनि तत्काल हुने अवस्था छैन। यात्रुका लागि फड्के बनाउन सुरु गरिएको छ। तत्कालका लागि थोरै मात्र हिँड्नु पर्ने गरी फड्के बनाउन लागिएको हो। सुरक्षा निकाय र फिदिम नगरपालिकाले मिलेर मान्छे तर्ने फड्के बनाउन लागिएको फिदिम नगरपालिकाका मेयर मित्र काफ्लेले बताए।
खोलाको बहाव केही कम भए पनि हिलिहाङतर्फ सडक नै बगेकाले तत्काल बेलिब्रिज बनाउने अवस्था देखिँदैन। अस्थायी डाइभर्सनका लागि पनि केही समय लाग्ने सडक डिभिजन कार्यालय इलामको भनाइ छ। गत वर्ष यहाँको पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो।
तत्काल डाइभर्सन बनाउन सक्ने अवस्था नरहेको इलाम सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले जानकारी दिए। ‘हामी मेची राजमार्ग खुलाउन अथक प्रयास गरिरहेका छौँ। एकतर्फी खुलाउने हाम्रो प्रयास सफल हुन सकिरहेको छैन,’ उनले भने, ‘हेवामा तत्काल बेलिब्रेज बनाउन सक्ने अवस्था छैन। डाइभर्सन बनाउन प्रयास गर्नेछौँ।’
सडक अवरुद्ध भएपछि पाँचथर सदरमुकामसम्म पनि मेची राजमार्ग सुचारु हुन सकेको छैन। फिदिमको रमिते क्षेत्रमा गएको ठूलो पहिरो पन्छाउन सकिएको छैन । सडक अवरुद्ध भएपछि समस्या बढ्दै गएको देखिन्छ। बजारमा अभाव देखिन थालेको व्यापारी नारायण थापाले बताए। ताप्लेजुङको लाइफ लाइन नै अवरुद्ध भएकाले ठूलो समस्या परेको उनको भनाइ छ।
मेची राजमार्गको पाँचथर खण्ड तहसनहस भएको छ। अनेकन ठाउँमा क्षति पुगेको छ। ठाउँठाउँमा सानाठूला पहिरो गएका छन्। धेरै ठाउँमा एकतर्फी खुलाइए पनि सानो पानीले पनि बिग्रिने अवस्था देखिन्छ।