अर्नव धनुका प्रिन्स र शिक्षी हङमा सुब्बा प्रिन्सेस चयन
खरसाङ: खरसाङको एक लोकल च्यानल नमस्ते खरसाङको आयोजनामा खरसाङमा किड्स फेशन शो कार्यक्रमको आयोजना गरिएको छ। नमस्ते खरसाङको आयोजनामा नमस्ते आईडल, नमस्ते डान्स र नमस्ते कविश्री आईडल हुँदै यसपाली किड्स फेशन शो कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न स्थानहरूबाट आएका जम्मा ४४ जना ४ वर्ष माथिका नानीहरूले सहभागिता जनाएका थिए। यस किड्स फेशन शो कार्यक्रममा निर्णायकको रुपमा जेनिफर जर्ज, वाङ्छेन लामा र सबिना गिरी रहेका थिए। यस प्रतियोगिताक लागि पहिलेबाटै नानीहरूलाई नमस्ते खरसाङ चले ट्रेनिङ दिएर रेम्पमा उतारेका थिए। यस किड्स फेशन शो कार्यक्रमलाई सिलभेष्टर लेप्चाले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, समाजसेवी टीटी लामा, बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे, गोर्खा जनपुस्ताकालय खरसाङको उपाध्यक्ष प्रकाश प्रधान, मोहन योञ्जन, गगन लामा लगायत कला, संगीत, साहित्य, समाजसेवीहरू साथै अन्यहरू उपस्थित रहेका थिए।

यस किड्स फेशन शो कार्यक्रममा सिलगढीका अर्नव धनुका प्रिन्स र शिक्ची हाङमा सुब्बा प्रिन्सेस भएका छन्। यसको साथै ८ जनालाई विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो। यी पुरस्कारहरूमा क्युटनेसमा खरसाङकी वैदेशी सुब्बा, फोटोजेनिकमा गिद्द पहाड़की भैरवी शर्मा, बेस्ट स्माएलमा सुधपाटोलकी वाणीश्री राई, बेस्ट रेम्प वार्कमा नेपालको साईमन पाण्डे, बेस्ट ट्यालेन्टमा मध्य डुमारामको अन्शुमान मुखिया र बेस्ट ड्रेसमा चैतेपानीकी जेनिशा थापा भएका छन्। कार्यक्रममा नानीहरू दार्जिलिङ, सोनादा, खरसाङ, सिलगढी, तीनधरे, घैयाबारी, सिटोङ र नेपालबाट पनि सहभागिता जनाउन आएका थिए। यस किड्स फेशन शो कार्यक्रममा भोइस किड्समा गएका नानी आयुष लामाले गीत प्रस्तुत गरेका थिए।

नानीहरूलाई विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो। यस किड्स फेशन शो प्रतियोगिता विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले सहभागी नानीहरू र अभिभावकहरू साथै सहयोग गर्ने सम्पूर्ण प्रायोजकहरू र उपस्थित अतिथिहरूप्रति सबैलाई धन्यवाद दिएका छन्।