खरसाङ: चियाबारी श्रमिकहरूलाई बीस प्रतिशतको दरले बोनस दिनुपर्छ भन्दै डाकिएको पहाड़ बन्दको असर घैयाबारी क्षेत्रमा पनि देखिएको छ। यसको साथै तीनधारे महानदी समष्टिको विभिन्न चियाबारीका श्रमिकहरूले बन्दलाई सफल पार्न आफ्नो आफ्नो क्षेत्रमा बन्दको समर्थनमा पिकेटिङ गरेका थिए। यस क्रममा घैयाबारी क्षेत्रको जोगमाया चियाबारीका श्रमिकहरूले गोलकोटी क्षेत्रमा निस्केर धरणा प्रदर्शन गरेका थिए। बीस प्रतिशत बोनसको मांगमा पहाडको श्रमिक संगठनहरूले डाकेको १२ घण्टा पहाड़ बन्दको असर घैयाबारी क्षेत्रमा पनि देखिएको छ। घैयाबारी क्षेत्रमा दोकानहरू सबै बन्द रहे भने गाड़ीहरू पनि ठप्प रहेको थियो। विशेष गरेर घैयाबारीको गोलकोटीस्थित राष्ट्रिय राजमार्गमा जोगमाया चियाबारीको श्रमिकहरू आएर बीस प्रतिशत बोनसको मांगमा धरणा प्रदर्शन गरेका थिए। यस क्रममा श्रमिकहरूले गाड़ीहरू रोकेर राखेका थिए भने बीस प्रतिशत बोनसको मांगमा विभिन्न प्रकारको नाराहरू लगाएका थिए। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको प्रतिनिधिहरू र भागोप्रमो तीनधारे महानदी समष्टिको प्रतिनिधिहरू उपस्थित रहेका थिए। यसरी नै तीनधारे महानदी समष्टिको रंगटङ्ग क्षेत्रमा सिमरिङ, मालुटार, शिवखोला, नरबुङ, सिपाहीधुरा क्षेत्रका चियाबारी श्रमिकहरूले रंगटङ्गमा आएर बीस प्रतिशत बोनसको मांगमा धरणा प्रदर्शन गरेका थिए। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, सभासद नवराज छेत्री, पञ्चायत समिति सदस्यद्वय अनिरा वाईबा र दिक्षा छेत्री, शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। बीस प्रतिशत बोनसको मांगमा चियाबारी श्रमिकहरूले रंगटङ्गमा सड़कमा निस्केर विभिन्न नाराहरूको साथमा धरणा प्रदर्शन गरेका थिए।

महानदी चियाबारी श्रमिकहरूको बीस प्रतिशत पूजा बोनसको मांगमा डाकिएको बाह्र घण्टी पहाड़ बन्दको प्रभाव महानदी क्षेत्रमा पनि देखिएको छ। महानदी बजार क्षेत्रमा पनि दोकानहरू पूर्ण रूपमा बन्द रहेको देखिएको छ। उक्त बन्दलाई सफल पार्न भागोप्रमो र भातृ संगठनहरूका प्रतनिधिहरू महानदी बजारमा उपस्थित रहेका थिए। महानदी क्षेत्रमा पिकेटिङ गर्नलाई नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधानको अगुवाईमा नारी शक्ति र युवा शक्तिका प्रतिनिधिहरूले बन्दलाई सफल पार्न फिल्डमा निस्केका थिए। यस क्रममा नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधानसितै नारी शक्ति महानदी बुथ कमिटीको सभापति सुधा सेवा, सचिव माला छेत्री, युवा शक्ति महानदी बुथको सचिव पासाङ दोर्जे शेर्पा लगायत 63 पाखाका युवाहरू र महानदी क्षेत्रका पार्टी कार्यकर्ताहरु उपस्थित रहेका थिए।