भद्रपुर: बाढीपहिरोका कारण चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवाबाट हुँदै आएको आयात व्यापार शनिबारदेखि ठप्प भएको छ। भोटेकोसीमा आएको बाढीले सीमा क्षेत्र नजिकैको अरनिको राजमार्गको लार्चा र लिपिङको मोटरेबल पुल बगाएको छ भने रसुवागढी नाका जोड्ने सडक जताततै छियाछिया बनेको छ।
तातोपानी र रसुवाबाट व्यापार मात्र ठप्प भएको छैन बिजुली, सञ्चार यातायातको अभावमा स्थानीय बासिन्दा निकै ठूलो त्रासमा छन्। तातोपानीमा पैदल आउजाउ गर्नसमेत नसक्ने अवस्था छ। मालवाहक कन्टेनर बाटैमा अलपत्र छन् भने अर्बौं रुपैंयाँका व्यापारिक सामानको असुरक्षा भएको छ। यसबाट नेपाली व्यापारिले करोडौं रुपैयाँ नोक्सानी बेहोर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।
भूकम्पपछि लगातार चार वर्ष पूर्ण रूपमा ठप्प तातोपानी नाकामा पछिल्लो दुई वर्षदेखि विस्तारै पैठारी कारोबार बढ्दै गएको थियो। निर्यात व्यापार भने चीनले ०७८ सालमा मात्र खुलाएको थियो। तर तातोपानीबाट निर्यात भएको छैन। चीन जोड्ने दुई वटा मोटरेबल पुल बगाएपछि तातोपानी नाका भूकम्पकै समयमा फर्केको सीमा क्षेत्र भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए।
सीमा क्षेत्र अहिले निकै आतंकित छ। दुवै नाकाको सडक खुल्ने समय अनिश्चित भएपछि नेपाली व्यापारीले आयात गरेका अर्बौं मूल्यका सयौं कन्टेनर व्यापारिक मालवस्तु चीन र नेपाली भूभागमा अलपत्र परेका छन्। नेपालको मात्र नभई तातोपानीबाट कुती र रसुवागढीबाट केरुङ जोड्ने चीनतर्फका सडक र पुल बाढीले बगाएपछि दुवै नाका सञ्चालन अनिश्चित बनेको छ।
चीनको केरुङ प्रशासनलाई उद्धृत गर्दै नेपाली व्यवसायीले दिएको जानकारीअनुसार चीनतर्फको सडक खुलाउन कम्तीमा एक साता यातायात नचलाउने निर्णय गरिएको छ।
रसुवाको स्याफ्रुबेसीदेखि रसुवागढीसम्म करिब १७ किमि क्षेत्रमा सडकको अवस्था ज्यादै नाजुक छ। सडकमाथिबाट आएको पहिरो सकेसम्म छिटो पन्छाउन काम सुरु गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।
खासगरी दसैंका लागि झिकाइएका स्याउ, अनारलगायत फलफूल र लसुन सयौं कन्टेनर सीमा क्षेत्रको बाटोमै रोकिएका छन्। विशेषतः तयारी पोसाक, जुत्ता, ब्याग, चप्पल, कस्मेटिक जस्ता दसैंमा बिक्री गर्ने गरी झिकाइएका व्यापारिक वस्तु बाटैमा कुन अवस्थामा छन्, यकिन गर्न नसकिएको सम्बन्धित व्यापारीले जानकारी दिए।
ठूलो परिणाममा व्यापारिक मालवस्तु बाटैमा अलपत्र भएपछि नेपाल हिमालय सीमापार वाणिज्य संघले दुवैतर्फ नाकामा अड्किएका मालवाहक कन्टेनर र पैठारी गरिएका सामानको लगत संकलन सुरु गरिएको बताएको छ।
तातोपानी नाकाको लार्चा सुक्खा बन्दरगाह, खासा र कुतीमा भएका कन्टेनर तथा केरुङ र रसुवाढीमा भएका कन्टेनरमा लोड गरिएका सामान नेपाल भित्र्याउन व्यवसायीले सरकारी सहयोग अपेक्षा गरेको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीको भनाइ छ। व्यवसायीले आइतबार काठमाडौंमा बैठक बसेर रोकिएका मालवस्तु नेपाल भित्र्याउन यातायात सञ्चालनमा सहयोग गर्न सम्बन्धित निकायमा अनुरोध गरेको संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी गंगाबहादुर घिमिरे (सागर)ले जनाए। समयमा यातायात सञ्चालन हुन नसके व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपर्ने उनको भनाइ छ।
झन्डै डेढ सय कन्टेनर सामान तातोपानी सीमा क्षेत्रमा अड्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो। कन्टेनरमा रहेका स्याउ, नासपाती, लसुन छोटो समयमै गुम्सिएर कुहिने भएकाले व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।