खरसाङ: आजसम्म आफ्नो बोनसको कुरा नमिलेपछि श्रमिकहरू बाध्य बनेर सडकमा ओर्लिएका छन्। आज श्रनिकहरूको बीस प्रतिशत बोनसको मांगमा डाकिएको बाह्र घण्टाव्यापी पहाड़ बन्दलाई सफल पार्न खरसाङ खण्डको मकैबारी चिया बगान अन्तर्गत तल्लो क्षेत्रका श्रमिकहरूले बिहानैदेखि खरसाङको पंखाबारी रोडलाई बन्द गरिदिए। अति आवश्यक सेवाबाहेक सबै गाडीहरूको आवत जावत बन्द गरिदिएका छन्। यहाँसम्म कि दुइ चक्के वाहनसमेत चल्न दिएनन्। श्रमिकहरूले सडकमा नै बीस प्रतिशतको दरले बोनस दिनुपर्छ, मालिकवर्ग मुर्दावाद, श्रमिक एकता जिन्दाबाद आदि जस्ता नाराहरू लगाए। यता बन्द अनि चिया श्रमिकहरूको बोनसबारे श्रमिक संगठनको पक्षबाट बालचन्द राई, मण्डल छेत्री, साजन राई अनि स्थानीय पञ्चायत सदस्य राज कुमार गुरूङले जानकारी दिए भने श्रमिकहरूको पक्षबाट सबिना शर्माले आफ्नो विचार व्यक्त गरेकी छन्।