वनडे सीरीज ३-२-ले जित्न सफल भयो अष्ट्रेलिया

IMG-20240930-WA0129

ब्रिस्टल: अष्ट्रेलियाले वर्षाले वाधा पुऱ्याएको वनडे सीरीजको पाँचौं तथा निर्णायक म्याचमा आयोजक ईंग्ल्याण्डलाई डकवर्थ लुईस पद्धतिद्वारा ४९ रनले पराजित गऱ्यो। यसरी अष्ट्रेलियाले ५ वटा म्याचको वनडे सीरीज पनि ३-२-ले जित्यो। म्याचमा पहिला ब्याटिंग गर्दै असाधारण शुरुवात गरे पनि बीचमा ईनिंग्स लड़खड़ाउँदा ईंग्ल्याण्ड ४९.२ ओभरमा ३०९ रन बनाएर अलआउट भयो। जवाफमा अष्ट्रेलियाले २०.४ ओभरमा २ विकेटमा १६५ रन बनाउँदा वर्षाले गर्दा खेल रोकियो अनि म्याच हुन सकेन। त्यस समय डकवर्थ लुईस पद्धतिअनुसार तय लक्ष्यभन्दा ४९ रन अघि रहेको हुनाले अष्ट्रेलियालाई विजेता घोषित गरियो। अष्ट्रेलियाको तर्फबाट ओपनर म्याथ्यू शर्टले सर्वाधिक ५८ रन बनाए। उनले ३० बल खेलेर ७ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक स्टीव स्मिथले अविजित ३६, ट्रेविस हेडले ३१ र जोश ईंग्लिशले अविजित २८ रन बनाए। अष्ट्रेलियालाई शर्ट र हेडको जोड़ीले तेज शुरुवात दिलाए। यी दुईजनाले पहिलो विकेटको निम्ति ४३ बलमा ७८ रनको पार्टनरशीप गरे। हेडले २६ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। यी दुईजना आउट भएपछि स्मिथ र ईंग्लिशले मिलेर अष्ट्रेलियाको ईनिंग्सलाई अघि बढ़ाए अनि वर्षाले खेल रोकिँदासम्म स्कोरलाई १६५ पुऱ्याए।

यसअघि काउण्टी ग्राउण्डमा टस हारेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डको शुरुवात असाधारण रहेको थियो अनि टीमले एक समय त २५ ओभरमै २०२ रन बनाइसकेको थियो तर मीडलअर्डरको निराशाजनक प्रदर्शनले गर्दा टीम पूरा ५० ओभर पनि नखेली ३०९ रनमा अलआउट भयो। ईंग्ल्याण्डको तर्फबाट ओपनर बेन डकेटले सर्वाधिक १०७ रन बनाए। वनडेमा यो उनको दोस्रो शतक हो। उनले ९१ बल खेलेर १३ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक फर्ममा रहने ह्यारी ब्रूकले ५२ बलमा ७२ रनको ईनिंग्स खेले। उनले ७ वटा छक्का र ३ वटा चौका लगाए। ईंग्ल्याण्डलाई डकेट र फिल सल्टको जोड़ीले असल शुरुवात दिलायो। यी दुईले पहिलो विकेटको निम्ति ४२ बलमा ५८ रनको पार्टनरशीप गरे। सल्टले २७ बल खेलेर ५ वटा चौका र ३ वटा छक्काको साथ ४५ रन बनाए। ईंग्ल्याण्डले पछिबाट सल्ट र विल ज्याक (शून्य)-लाई लगातार अन्तरालमा गुमाउँदा स्कोर २ विकेटमा ७० रन भएको थियो। त्यहाँबाट डकेटले ब्रूकबाट असल साथ पाए। यी दुईजनाले आक्रामक ब्याटिंग गर्दै तेस्रो विकेटको निम्ति १३२ रनको पार्टनरशीप गरी स्कोर २०२-सम्म पुऱ्याए। फर्ममा रहने ब्रूकलाई एडम जाम्पाले आउट गरी यस पार्टनरशीपलाई तोड़्नको साथै अष्ट्रेलियाले म्याचमा फर्किने मौका पायो। त्यसपछि ईंग्ल्याण्डको तर्फबाट अदिल राशिदलाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। राशिदले नवौं नम्बरमा ओर्लिएर ३६ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा ट्रेविस हेडले सर्वाधिक ४ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *