मंगन: राज्यमा बितेका दुई दिन लगातार परेको भारी वर्षाले उत्तर सिक्किमका विभिन्न स्थानमा व्यापक हिमपात भएको छ। राज्यमा बितेको २४ घण्टामा १०२ एमएम वर्षा भएको आधिकारिक सूत्रले बताएको छ। यसरी अचानक मौसम परिवर्तन हुँदा उत्तर सिक्किम साथै गान्तोक, सोरेङ र गेजिङ जिल्लामा पनि केही स्थानमा हिमपात भएको हो। उत्तर सिक्किममा विशेष गरेर पर्यटनस्थल लाचेन र लाचुङ घाटीमा अधिक हिमपात भएको छ। यो राज्यमा सिजनको पहिलो हिमपात पनि हो।

भारी हिमपातको कारण उत्तर सिक्किमका कतिपय स्थानमा यातायत ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ। सड़कहरूमा थुप्रिएका हिउँलाई हटाएर यातायत पुनर्वहाली गर्न सीमा सड़क सङ्गठनले सक्रियता देखाइरहेको छ। यसको निम्ति सङ्गठनले भारी मशिनहरूको साथमा धेरै जनशक्ति काममा लगाएको छ।
उल्लेखनीय छ, दुई दिन निरन्तर परेको भारी वर्षाको कारण राज्यका विभिन्न स्थानमा पैह्रो गएर व्यापक क्षति पुऱ्याएको छ। धेरै ठाउँमा सड़कमार्ग बन्द भएर वाहनहरूको आवागमन पनि प्रभावित बनेको छ।