गान्तोक: अन्तराष्ट्रीय मानव अधिकार अपराध नियन्त्रण परिषद र “नेशनल एन्टी करप्सन”-को पहलमा उत्तर प्रदेशको अयोध्यामा आयोजित तीन दिवसीय रामायाण प्रतिष्ठा महोत्सवमा राज्यका सामाजिक कार्यकर्ता क्रिश कुमार शाहलाई उत्कृष्ट सामाजिक कार्यकर्ता पुरस्कारद्वारा पुरस्कृत गरियो। क्रिश शाह केवल सामाजिक कार्यकर्ता मात्र नभएर अन्तराष्ट्रीय मानव अधिकार परिषद सिक्किम राज्यका संयुक्त निर्देशक पनि हुन्। शाहले धेरै वर्षदेखि राज्यमा सामाजिक सेवा गर्दै आइरहेका छन्।
उल्लेखनीय छ, अयोध्या मन्दिरको उदघाटनको क्रममा उनी सिक्किम राज्यको प्रतिनिधित्व गर्दै अयोध्या पैदल यात्रा गर्दै पुगेका थिए। उनी यसरी पैदल यात्रा गरेर अयोध्या पुग्ने राज्यका एक मात्र सामजिक कार्यकर्ता थिए। विशेष गरेर उनले कोरोनाकाल लगायत अन्य समयमा पनि आवश्यक्तामा परेका व्यक्तिहरूलाई सहयोग पुऱ्याउँदै आइरहेका छन्। यसरी उनले एक सामाजिक कार्यकर्ताको रुपमा अहिलेसम्म धेरैपल्ट रक्तदान गरेर धेरैको जीवन बचाउन सफल बनेको बताएका छन्।
प्राप्त जानकारीअनुसार गत २६-२८ सेप्टेम्बरसम्म अयोध्यामा आयोजित तीन दिवसीय कार्यक्रममा सिक्किमलाई प्रतिनिधित्व गर्दै उनलाई आमन्त्रित गरिएको थियो। यसरी यति ठूलो संस्थाद्वारा सम्मानित हुन पाउँदा गर्व लागेको क्रिश शाहले बताएका छन्। यसले आगामी दिन सामाजिक कार्यको निम्ति आफूमा थप ऊर्जा भरेको उनको भनाइ रहेको छ।









