गान्तोक: सामाजिक सङ्गठन रोङगे छोङगे युमी छोगपाद्वारा आज रिओ साङछे पूजा आयोजना गरियो। सङ्गठनको आफ्नै कार्यालयमा आयोजित यस रिओ साङछे पूजामा ठूलो सङ्ख्यामा भक्तगणको सहभागिता रहेको थियो। वर्षेनी आयोजना गरिने यस पूजाको बौद्ध धर्मावलम्बीहरूमा छुट्टै महत्व रहिआएको छ। आठौं शताव्दी पूर्व गुरू रिमपोछेद्वारा प्रतिपादित रिओ साङछे पूजा पद्धतिलाई बौद्ध गुरू तार्तेन ल्हातसुन नामखा जिग्मीले सिक्किममा आराम्भ गरेको सिक्किमेली बौद्ध धर्मावलम्बीहरूमा विश्वास रहिआएको छ।
यस पुजा अन्तर्गत हिमाली क्षेत्रमा पाइने अति नै दुर्लभ जड़िबुटी अनि सुगन्धित धुपहरू बाल्ने प्रचलन रहेको छ। परापुर्वकालमा हिमाली क्षेत्रको उच्च स्थानहरूमा यसरी दुर्लभ जड़िबुटी अनि सुगन्धित धुपहरू बाल्ने प्रचलन रहेको थियो भने यसरी दुर्लभ जड़िबुटी अनि सुगन्धित धुपहरू बाल्दा यसबाट निक्लिएको धुवाँले वातावरणलाई शुद्ध गर्ने, रोग कष्टलाई निर्मुल गर्ने, मानिसहरूको विभिन्न दुख अनि कष्टलाई हरण गर्ने, प्राकृतिक प्रकोपबाट बचाउने र असल कर्म तर्फ मानिसहरूलाई प्रेरित गर्छ भन्ने विश्वास रहेको छ।
सामाजिक सङ्गठन रोङगे छोङगे युमी छोगपाले वर्षेनी रिओ साङछे पूजा आयोजना गर्दै आएको छ। यस पुजामा स्थानीय वासिन्दा लगायत विभिन्न क्षेत्रबाट ठूलो सङख्य़ामा भक्तजन आउने गर्छन्। आज सम्पन्न यस रिओ साङछे पूजामा क्षेत्र विधायक तेन्जिङ नोर्बु लाम्टा, ताथानचेनकी पार्षद पेमा लामटा, गान्तोक नगर निगमकी उप मेयर छिरिङ पाल्देन भोटिया, जिल्ला एवं ग्राम पञ्चायतका सदस्यगण, सिक्किम सरकारका उच्च पदाधिकारीगण, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधीगणले सहभागिता जनाएका थिए।