रोङचोङ: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोङचोङको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा आइतवार पहिलो सेमिफाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोङचोङ पब्लिक ग्राउण्डमा आज भएको म्याचमा एनएचपीसी रम्बीले अपेक्षा फूटबल क्लब (सेवोक)-विरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट स्टेफनले जम्मा ४ गोल गरे। उनले २४औं, ४१औं, ५६औं र ५९औं मिनटमा गोल गरे। यसरी अन्य एउटा गोल जूनियरले ६२औं मिनटमा गरे। यसरी अपेक्षा फूटबल क्लबबाट माइकलले २५औं र सितमले ६१औं मिनटमा गोल गरे। अब १ अक्टोबरमा खेलिने दोस्रो सेमिफाइनलमा प्रधान इलेभेन र केएचएलयू कालेबुङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।