मङ्पु: सिक्किमका पत्रकार प्रवीण खालिङलाई हिल टाइम्स पत्रकारिता पुरस्कार २०२४ प्रदान गरिएको छ। आज मङ्पुको रवीन्द्र भवनमा सर्वनाम समूह मङ्पु र हिल टाइम्स साहसिक पुरस्कार एवम् पत्रकारिता पुरस्कार अलङ्करण समारोहमा सिक्किमका पत्रकार प्रवीण खालिङलाई उक्त पुरस्कार प्रदान गरिएको छ। वर्तमान पानी झरीको समयमा सिक्किमबाट कार्यक्रममा ढिलो गरी आइपुगे पनि उनलाई पूर्व घोषित कार्यक्रम अनुसार पत्रकार प्रवीण खालिङलाई हिल टाइम्स पत्रकारिता पुरस्कार २०२४ प्रदान गरिएको छ। यस अवसरमा उनलाई हिल टाइम्स अनलाइन न्युज च्यानलको प्रबन्ध निर्देशक पत्रकार केशर मोक्तान, वरिष्ठ साहित्यकार उदय थुलुङ, वरिष्ठ समाजसेवी बिक्रम राई र मङ्पु पुलिस आउट पोष्टको ओसी आदिको बाहुलीबाट खदार्पणसहित नेपाली टोपी, स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरेर उक्त पुरस्कार प्रदान गरिएको छ। उल्लेखनीय छ हिल टाइम्स अनलाइन न्युज च्यानलले प्रत्येक वर्ष साहसिक पुरस्कारसितै पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ। यसै क्रममा यसपाली सिक्किमका कवि, साहित्यकार एंव पत्रकार प्रवीण खालिङलाई उक्त हिल टाइम्स पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। यस अवसरमा पत्रकार प्रवीण खालिङको जीवनी एवं सम्बर्ध्दना पत्र सर्वनाम समूहकी सदस्या सम्झना राईले पठन गरेकी थिइन्। प्रवीण खालिङले सन् २०२४ देखि आफ्नो पत्रकारिता जीवनको शुरुवात् गरेका थिए। उनले प्रभात, प्रभात वार्ता, अनुगामिनी जस्ता हिन्दी समाचार पत्रमा प्रभारीको रूपमा कार्य गरिसकेका छन् भने नेपाली दैनिक समाचार पत्रहरू हाम्रो पहाड़, सुनाखरी, समय दैनिक, पूर्वाञ्चल भारती, सांग्रीला टाइम्स आदितिर पनि कार्य गरिसकेका छन्। प्रवीण खालिङले नेपाली साहित्यमा पपनि योगदान दिएका छन्। उनको झरी नामक कविता कृति र चिया गफ लेख संग्रह प्रकाशित छन् भने उनले चिया कविता नामक कार्यक्रम विभिन्न प्रकारले र विभिन्न स्थानहरूमा आयोजना गरिरहेका छन्।