गान्तोक: निरन्तर परेको भारी वर्षाको कारण राज्यमा सिर्जना भएको चिन्ताजनक स्थितिलाई लिएर मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीलाई सतर्क गराएका छन्। मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत राज्यवासीलाई यस प्रतिकूल परिस्थितिमा सतर्क रहने अपील गरेका छन्। उनले भनेका छन्, हाम्रो राज्यले हाल अविरल वर्षाको सामना गरिरहेको छ। धेरै क्षेत्रहरूमा व्यापक पहिरो गएको छ भने कतिपय स्थानमा पैह्रोको खतरा बड़ेको छ। यस चिन्ताजनक स्थितिमा म राज्यवासीलाई आफ्नो सुरक्षालाई प्राथमिकता दिने आग्रह गर्दछु।
मुख्यमन्त्री तामाङले राज्यवासीलाई गैर-आवश्यक यात्रा नगर्ने पनि अपील गरेका छन्। यसकासाथै कुनै पनि स्थितिमा खोला-नालाको नजिक नजाने पनि आग्रह गरेका छन्। “सर्वसाधरणको सुरक्षा हाम्रो प्राथमिकता हो र म राज्यवासीलाई आश्वस्त पार्न चाहन्छु कि राज्य सरकारले हालको प्रतिकूल स्थितिलाई नजिकबाट नियालेर प्राकृतिक आपदाको रोकथाम अनि राहत कार्यको निम्ति आवश्यक सबै पहल गरिरहेको छ। सरकार राज्यवासीलाई अत्याधिक सावधानी अपनाउन र आफू वरपरको स्थितिलाई लिएर जानकार अनि सचेत रहने अनुरोध गर्दछ”, मुख्यमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्।