सिलगढी: बिहार, असम र बंगलादेशबाट अवैध रूपमा तस्करी गरी ल्याइएका २९ वटा भैँसीसहित २ जनालाई फाँसीदेवा पुलिस चौकीले पक्राउ गरेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा शुक्रबार राति फाँसीदेवा पुलिस चौकीले घोषपुकुर फुलबारी बाइपास राष्ट्रिय राजमार्गमा छापा मारेर शंकास्पद कन्टेनरका चालकसँग कागजपत्र मागेको थियो। तर चालकले वैध कागजातहरू देखाउन सकेनन्। त्यसपछि गाडीको खोजी गर्दा पुलिसले २९ वटा भैँसी बरामद गरेको थियो। पुलिसले कन्टेनर नियन्त्रणमा लिई चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका एमडी फरमान (३५) र एमडी फरमान (३८) उत्तर प्रदेशका हुन्। पक्राउ परेका अभियुक्तलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। फाँसीदेवा पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान शुरु गरेको छ। यस गिरोहमा संलग्नको खोजी भइरहेको पुलिसले जनाएको छ। -न्यूज एसिया