२३ मईः प्रदर्शनमा निरन्तरताको कमीसँग जुझ्ने बार्सिलोनाले ला लीगा सीजनको अन्तिम म्याचमा पनि हारको सामना गर्नु पऱ्यो। बार्सिलोना हारे पनि एट्लेटिको म्याड्रिड र सेविलेले चाहिँ जीतको साथ घरेलु सीजनको समापन गऱ्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनालाई भिल्लारियलले २-०-ले पराजित गऱ्यो। म्याचमा ७० प्रतिशत पोजेशनको साथ खेले पनि बार्सिलोनाले गोल गर्न सकेन। विजेता टीमबाट अल्फन्सो पेडराजाले ४१औं र मिओ गोमेजले ५५औं मिनटमा गोल गरे। यस हारपछि पनि बार्सिलोना ३८ वटा म्याचमा ७३ पोइण्टको साथ ला लीगा टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी नै भिल्लारियलले ५९ पोइण्टको साथ सातौं स्थानमा रहेर सीजनको समापन गऱ्यो। यसबीच एट्लेटिको म्याड्रिडले रियल सोसिएदाद विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। विजेता टीमबाट रोड्रिगो डी पलले ५०औं र ए़ञ्जेल कोरेआले ६८औं मिनटमा गोल गरे। यसरी नै सेविलेले एथलेटिक क्लब बिल्बाओलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट राफा मिरले ६८औं मिनटमा गोल गरे। यी दुईवटा म्याचपछि एट्लेटिकोले ७१ पोइण्टको साथ तेस्रो अनि सेविलेले ७० पोइण्टको साथ चौथो स्थानमा रहेर ला लीगा सीजनको समापन गऱ्यो। ला लीगाका अन्य म्याचहरूमा एल्चेले गेटाफेलाई ३-१-ले, काडिजले अलावेसलाई १-०-ले अनि मालोर्काले ओसासुनालाई २-०-ले पराजित गऱ्यो। ला लीगा टेबलमा रियल बेटिस ६५ पोइण्टको साथ पाँचौं, रियल सोसिएदाद ६२ पोइण्टको साथ छैटौं र एथलेटिक क्लब ५५ पोइण्टको साथ आठौं स्थानमा रह्यो।