गान्तोक: गत केही दिनदेखि निरन्तर परेको वर्षाको कारण सिक्किम र छिमेकी राज्य पश्चिम बंगाललाई धेरै प्रभावित पारेको छ। पश्चिम बंगाल राज्य अन्तर्गत दार्जीलिङ अनि कालेबुङ जिल्लामा व्यापक क्षति पुऱ्याएको छ। सोही प्रकारले सिक्किम र बंगाललाई जोडने एक मात्र राष्ट्रीय राजमार्गको विभिन्न स्थानमा पैह्रौ गएपछि यातायात अवरूद्ध बनेको छ। हाल सिक्किमदेखि सिलगढी पुग्न दस घण्टाको समय लाग्ने स्थिति यस वर्षाले उत्पन्न गरेको छ। राष्ट्रीय राजमार्ग अन्तर्गत बागपुलदेखि रम्फूसम्मको विभिन्न क्षेत्रमा पैह्रौ गएपछि यात्रीहरूले धेरै समस्याको सामना गर्नुपरिरहेको छ। अहिले साना ठूला सबै वाहनहरू लाभा भएर धेरै लामो यात्रा तय गरेर सिलगढी पुग्नु पर्ने बाध्यता उत्पन्न गराएको छ। यसरी नै गान्तोकदेखि रम्फूसम्मको सडक मार्गबीच पनि विभिन्न क्षेत्रमा पैह्रौ गएको चालक साथै यात्रीहरूले जोखिमपूर्ण यात्रा गरिरहेका छन्। वर्षाको मौसममा सिलगढीदेखि गान्तोकलाई जोडने एक मात्र राष्ट्रीय राजमार्गले प्रति वर्ष समस्या उत्पन्न गर्दै आइरहेकोछ। विभिन्न स्थानमा पैह्रौले सडक चुढिएपछि दुवै राज्यका मानिसहरूले यातायातको समस्या भोग्दै आइरहेका छन्। उल्लेखनीय छ, गत 4 अक्टोबरको दिन टिस्टा नदीमा आएको भिषण बाढले सिक्किम लगायत पश्चिम बंगालको विभिन्न क्षेत्रमा पुऱ्याएको क्षतिको कारण अहिलेसम्म पनि राष्ट्रीय राजमार्गको अवस्था मजबुत हुन सकेको छैन। यस विषयमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ लगायत लोकसभा र राज्यसभा सांसदले संसदमा धेरै पल्ट मुद्दा उठाइसकेका छन्। सिलगढीदेखि रम्फूसम्म जोडने राष्ट्रीय राजमार्ग पश्चिम बंगालको पीडव्ल्यू अन्तर्गत पर्ने भएको सडकको प्रगति, विस्तार र निर्मणको कार्य कछुवाको चालमा भइरहेको छ, जसको कारण प्रति वर्ष सिक्किमले यसको हानि व्यहोर्नु परिरहेको छ। राष्ट्रीय राजमार्गको अवस्था राम्रो नभए पछि सिक्किममा भित्रिने पर्यटकहरूको संख्यामा पनि केही हास आएको सर्वविधित छ। यसरी राष्ट्रीय राजमार्गको कारण सिक्किम राज्यको राजस्वमा पनि घाटा भइरहेको छ। सिक्किम राज्यको मुख्य राज्स्वकोरूपमा पर्यटन क्षेत्रलाई मानिने गरिन्छ, तर गत वर्षदेखि राष्ट्रीय राजमार्गको दयनीय अवस्थाको कारण सिक्किमले प्रत्यक्ष र अप्रत्यक्षरूपमा विभिन्न समस्या भोग्नु परिरहेको छ।