मङ्गन: उत्तर जिल्लाको सहकारी दुग्ध उत्पादक संघ लिमिटेडको दोस्रो वार्षिक आम सभा आज मङ्गनस्थित जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। यस अवसरमा पशु तथा दुग्ध विभागका विस्तार तथा तालिम निर्देशक डा. सञ्जय गजमेर, दुग्ध विभागका अतिरिक्त निर्देशक विशाल तिवारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
सभामा प्रबन्ध निर्देशकले आर्थिक वर्ष २००८-०९ देखि २०२३-२४ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गरियो। यस अवसरमा नवनियुक्त बोर्डका सदस्य साङ डोमा लेप्चा, जसराज लिम्बू, रानमान लिम्बू, साम्तेन भोटिया र प्रेम कुमार राईलाई खदाअर्पण गर्दै सम्मान जनाइयो। यसरी नै विदाई हुने सदस्यहरूले पुऱ्याएको सेवालाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरियो।