सोनीपत: स्टार भारतीय ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले आउँदो सीजनको निम्ति शत प्रतिशत फिट रहने वाचा गर्दै शुक्रवार उनको अघिल्लो लक्ष्य २०२५ टोक्यो वर्ल्ड च्याम्पियनशीपमा पोडियममा स्थान बनाउने रहेको बताए। ओलम्पिकमा दुईपल्टका पदक विजेता नीरज ब्रुसेल्समा डायमण्ड लीगको फाइनलमा दोस्रो स्थानमा रहेका थिए। उनी आफ्नो वर्तमान सीजनलाई समाप्त गरी स्वदेश फर्किएका छन्। टोक्यो ओलम्पिकमा स्वर्ण पदक जित्ने नीरजले पेरिस ओलम्पिकमा रजत पदक हासिल गरेका थिए। उनी लगातार दुईवटा ओलम्पिकमा पदक जित्ने भारतका पहिलो ट्र्याक एण्ड फील्ड एथलीट हुन्। यस २६ वर्षीय खेलाड़ीले हरियाणा खेल विश्वविद्यालयको मिशन ओलम्पिक २०३६-मा आयोजित एउटा सम्मेलनको अवसरमा भने, मेरो सीजन समाप्त भइसकेको छ। आउँदो साल सबैभन्दा ठूलो लक्ष्य वर्ल्ड च्याम्पियनशीप हुनेछ अनि हामी त्यसको तयारी अहिलेदेखि नै शुरु गर्नेछौं। ओलम्पिक सदा मेरो दिमागमा रहन्छ तर त्यसको निम्ति हामीसँग चार साल रहेको छ। वर्ल्ड च्याम्पियनशीप आउँदो साल १३-देखि २१ सेप्टेम्बरसम्म आयोजित हुनेछ।
नीरज चोपड़ालाई यो पूरा साल नै मांसपेशीको चोटले सतायो। यसले गर्दा ओलम्पिक र डायमण्ड लीग फाइनलमा उनको प्रदर्शन प्रभावित भयो। उनले हातमा चोट लिएर नै डायमण्ड लीग फाइनलमा हिस्सा लिएका थिए। चोटको समस्याबारे प्रश्न गरिँदा नीरजले त्यसलाई अधिक प्राथमिकता नदिएर आफ्नो तक्निकमाथि सुधार गर्नमा ध्यान दिइरहेको बताए। उनले भने, मेरो निम्ति यो साल चोटले भरिएको रह्यो तर अहिले चोट ठीक भएको छ। म नयाँ सत्रमा सम्पूर्ण रूपले फिट हुनेछु। यसबाहेक तक्निक पनि मुद्दा हो अनि हामी त्यसमाथि काम गर्नेछौं। म आफ्नो तक्निकमा सुधार गर्न चाहन्छु। म भारतमा पनि अभ्यास गर्न चाहन्छु तर प्रतियोगिताहरू शुरु भएपछि मेरो निम्ति विदेशमा अभ्यास गर्नु नै सही हुन्छ। भारतीय खेलाड़ीहरूले ओलम्पिकमा ६ वटा पदक जिते पनि स्वर्ण पदक आउन सकेन। यसबारे प्रश्न गरिँदा नीरजले भने, हाम्रा धेरै खेलाड़ीहरू चौथो स्थानमा रहे। जे भए पनि हामीले यसपाली प्यारालम्पिकमा असल प्रदर्शन गऱ्यौं अनि धेरै पदक जित्यौं। आउँदो समयमा हाम्रो ओलम्पिक र प्यारालम्पिक दुवैमा प्रदर्शन राम्रो हुने आशा छ।