एडभेञ्चर टुरिज्मको लागि कार्यालयसहित एटिभी र माउण्टेन बाईकिङको सञ्चालन शुरू
खरसाङ: खरसाङको रोहिणी क्षेत्रमा आजदेखि एडभेञ्चर टुरिज्मको लागि कार्यालय उदघाटनसितै एटीभी र माउण्टेन बाईकिङ सञ्चालन शुरू गरिएको छ। यसको साथै रोहिणीमा पाराग्लाईडिङको पनि पुन: सञ्चालन शुरू गरिएको छ। रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्चर एसोसिएशनको सक्रियता र पहल अनि जीटीएको सहयोगमा रोहिणी क्षेत्रमा विश्व पर्यटन दिवसको अवसरमा एडभेञ्चर टुरिज्म सञ्चालन शुरू गरिएको छ। यस अवसरमा रोहिणीको रत्नड्याङमा कार्यालय उदघाटन गरिएको छ भने केही मुनितिर माउण्टेन बाईकिङ र एटिभीको लागि पनि उदघाटन गरिएको छ। उक्त उदघाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएको पर्यटन विभागको एमओडी सभासद नुरी शेर्पा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा कार्यकारी सभासद कल्पना प्रधान, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, पञ्चायत सदस्य उमेश थापा, जीटीएको एडभेञ्चर टुरिज्म विभागको चिफ् को-अर्डिनेटर डा दावा शेर्पा लगायत रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्चर एसोसिएशनको पदाधिकारीहरू र सदस्यहरू उपस्थित रहेका थिए। रोहिणी क्षेत्रमा एडभेञ्चर टुरिज्म सञ्चालनको लागि प्रशस्त सम्भावना रहेकोले रोहिणी क्षेत्रमा रहेका युवाहरूद्वारा गठित रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्चर एसोसिएशनको पहल र जीटीएको सहयोगमा सञ्चालन शुरू भएको छ। एडभेञ्चर टुरिज्मको लागि एटीभी उदघाटन पनि अफ् रोडमा उक्त एटीभी गाड़ी कुदाइएको छ भने आजदेखि एडभेञ्चर टूरिज्मको लागि सञ्चालन शुरू गरिएको छ।कार्यक्रममा जीटीएको एडभेञ्चर टुरिज्मको चिफ् को-अर्डिनेटर डा दावा शेर्पाले सम्बोधन गर्दै आज विश्वव्यापी रूपमा विश्व पर्यटन दिवस कार्यक्रम मनाईरहेको र यसपालीको थिम ‘पर्यटक र पर्यटन’ रहेको बताएका छन्। उनले आजदेखि रोहिणी क्षेत्रमा रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्चर एसोसिएशनको पहलमा रोहिणी क्षेत्रमा एडभेञ्चर टुरिज्म सञ्चालन शुरू गरिएको बताएका छन्। उनले रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्चर एसोसिएशनका युवाहरूलाई बधाई दिएका छन्।

जीटीएको एडभेञ्चर टुरिज्मको चिफ् को-अर्डिनेटर डा दावा शेर्पाले रोहिणीमा प्याराग्लाईडिङ, एटीभी, एमटिबी जस्ता एडभेञ्चर टुरिज्म सञ्चालन शुरू गरिएको बताउँदै रोहिणी क्षेत्रका युवाहरूलाई जीटीएबाट ट्रेनिङ दिने पनि बताएका छन्। उनले एडभेञ्चर टुरिज्ममा अनुशासन मुख्य रहेको बताउँदै किनभने पर्यटकहरूलाई स्वागत गर्दा र जानकारी साझा गर्दा अनुशासन र धैर्यता मुख्य हुनु पर्ने बताएका छन्। उनले रोहिणी क्षेत्रमा एडभेञ्चर टुरिज्मको लागि प्रशस्त सम्भावना रहेको बताएका छन्। उक्त उदघाटन कार्यक्रम विषयमा रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्चर एसोसिएशनको संयोजक सचिन खातीले जीटीएको पर्यटन विभागलाई सहयोगको लागि धन्यवाद दिएका छन्। उनले रोहिणी क्षेत्रमा शिक्षित युवावर्गलाई लिएर गठित रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्चर एसोसिएशनको पहलमा रोहिणी क्षेत्रमा एडभेञ्चर टुरिज्म सञ्चालन शुरू गरिएको र यसमा जीटीएको एडभेञ्चर टुरिज्म विभागको सहयोग सराहनीय रहेको बताएका छन्।

उनले रोहिणी क्षेत्रमा एडभेञ्चर टुरिज्मको लागि सुन्दरीकरणको कार्य अझ गरिने र रोहिणी क्षेत्रलाई पर्यटकहरूका लागि मनोरञ्जन र रोमाञ्चक बनाइने जानकारी गराएका छन्। उल्लेखनीय छ रोहिणी क्षेत्र सिलगढीदेखि नजिक पर्ने साथै दार्जिलिङ पहाड़ जाने मुख्य द्वार भएकोले रोहिणी क्षेत्र उत्तर बंगालको मुख्य पर्यटन केन्द्र बन्न सक्ने साथै एडभेञ्चर टुरिज्मको लागि प्रशस्त सम्भावना रहेको देखिएको छ।