नेपालकाे वर्तमान सरकार चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्तावप्रति सकारात्मक

IMG-20240927-WA0249

भद्रपुर: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्तावप्रति सकारात्मक रहेको बताएका छन। गुरुङले नेपाल छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट राष्ट्रिय हित अनुकूल हुने गरी कार्यान्वयनमा ल्याइएका विभिन्न आयोजनामा सहभागी हुँदै आएको सन्दर्भ उल्लेख गर्दै चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोडको सन्दर्भ कोट्याउनु भएको हो।

जनगणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा साउथ एसिया नेटवर्क टेलिभिजन र नेपाल-चाइना मिडिया फोरमद्वारा राजधानीको अनुपम फुडल्याण्डमा आयोजित तेस्रो दुई देशीय सम्मेलनलाई आज अपरान्ह सम्बोधन गर्दै उनले चीनले नेपाललाई प्रदान गर्ने थप सहयोगका क्षेत्र आगामी दिनमा खुल्दै जाने विश्वास पनि व्यक्त गरे। भने , ‘दुई देशका सरकार र जनताबीचको सम्बन्धलाई उचाइमा पुर्याउन दुबै देशका सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नेछन्।’
त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बिआरआई सहयोगपछि नेपाल र चीनबीच निरन्तर सहयोगका परिणामहरु प्राप्त भएको बताए। सम्मेलनलाई सम्बोधन गर्दै उनले ट्रान्स हिमालयन त्रि–आयामिक अन्तरसम्बन्ध सञ्जालले आकार ग्रहण गरिसकेको उल्लेख गरे।
राजदूत सोङले सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २०औं महाधिवेशनको तेस्रो पूर्ण बैठकले लागू गरेका सुधारका ३ सयभन्दा धेरै उपायहरूबाट नेपाललगायत धेरै छिमेकी देश लाभान्वित हुने जानकारी दिएका छन्। चिनियाँ सामान, सेवा, पुँजी र श्रम बजारको क्रमिक रूपमा विस्तार हुनु र अति कम विकसित देश का लागि एकपक्षीय खुलापन जारी राख्नु नै त्यसको उदाहरण रहेको राजदूतको भनाइ छ। उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ प्रविधि कार्ययोजनाको कार्यान्वयनलाई निरन्तरता दिनु, हरित विकास, डिजिटल अर्थतन्त्र, आर्टिफिसियल इन्टेलिजेन्स,ऊर्जा,कर,वित्त,र विपत्ति न्यूनीकरणका क्षेत्रमा बहुपक्षीय सहकार्यको प्लेटफर्म निर्माण गर्नु, जल, स्थल र वायुको एकीकृत योजना सुधार गर्नु एवम् महत्वपूर्ण प्रतिकात्मक परियोजनाहरू र सानो तर सुन्दर जनजीवनका परियोजनाहरू समन्वय गर्नु नै यसका उदाहरण हुन्।’
यी सुधारका उपायले नेपाल-चीनबीच हिमालय पार बहुआयामिक सञ्जालको निर्माणलाई तीव्रता दिने उनको विश्वास छ। कृषि,उद्योग,व्यापार,डिजिटल प्रविधि,नवीकरणीय ऊर्जा र पर्यटकीय क्षेत्रमा सहकार्यको सम्भावना बढ्ने र नेपालको विकास एवम् समृद्धिमा टेवा पुर्याउने भएकाले दुवै मुलुकका जनतालाई थप फाइदा पुग्ने उल्लेख गरे।
चिनियाँ र नेपाली सञ्चारमाध्यम एवम् अन्तर्राष्ट्रिय विषयवस्तुमाथि छलफल गरिएको सम्मेलनमा राजदूत सोङले पछिल्लो समय दुबै मुलुकका सञ्चार माध्यमहरुले खेलेका सकारात्मक भूमिकाको सह्राहना गर्दै भने , ‘यी मिडिया आफ्ना विशेषता र क्षमताको पूर्ण उपयोग गर्दै, विकासको सहकार्य र सामूहिक लाभको समावेशी धारणालाई व्यापक रूपमा फैलाउन सहयोगी बनेका छन्। यसले साँचो र सटिक,समग्र र विश्वसनीय समाचार सूचनाको प्रसारमा सामाजिक जिम्मेवारीको रूपमा महत्वपूर्ण भूमिका निभाएको छ। नेपाल–चीनबीचको सहयोग र अन्तक्रियाको सशक्त आधारलाई निरन्तर सुदृढ पार्नमा योगदान दिएको छ।’
दक्षिण एशिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै फोरमका अध्यक्ष किशोर श्रेष्ठले जनगणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको पूर्व सन्ध्या र नेपाल–चीनबीच कायम भएको कूटनीतिक सम्बन्धको ६९औं वर्षगांठका अवसरमा आयोजित कार्यक्रमले हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाएको उल्लेख गरे। केही चुनौतीबीच नेपाल–चीन सम्बन्ध झन् प्रगाढ हुँदै गएको उहाँको भनाइ थियो।
मिडिया सम्मेलनले दुई मुलुकबीच सञ्चार सहयोग, साझेदारी,संयोजन, मैत्रीपूर्ण तथा हार्दिकतापूर्ण सञ्चार सम्बन्ध अभिवृद्धि गर्न थप सहयोग पुर्याएको उनले बताए। ‘सञ्चार क्षेत्रमा उच्च प्रविधिको प्रयोग, सामाजिक सञ्जालको भूमिकासँगै आवाजविहीनहरुको आवाजलाई थप बुलन्द पार्न मिडियाहरुले सशक्त भूमिका खेल्नुपर्छ,’ भन्दै थपे , ‘सञ्चार माध्यममा प्रस्तुत गरिने विषयवस्तु र भाषा वास्तविक, सत्य र सरल हुनुपर्ने हाम्रा साझा उद्देश्य र मान्यता छन्।’ सम्मेलन आयोजनामा चीनको कान्सु प्रान्तका वरिष्ठ पत्रकार हौ च होङको विशेष भूमिका उल्लेख गर्दै उहाँले पछिल्लो तीन वर्षदेखि यसमा दत्तचित्त भएर लागेका हौ र उनको संस्था दक्षिण एशिया नेटवर्क टेलिभिजनको प्रशंसा गरे।

सम्बोधनको क्रममा श्रेष्ठले भने, ‘चीनको विकासलाई पछ्याउँदै थप नयाँ प्रविधि, पुँजी र लगानी भित्र्याउन नेपालभित्र उपयुक्त वातावरण हामीले बनाउनैपर्छ। नेपालको विकास र नेपालीको सम्वृद्धिका लागि छिमेकी देशका पर्यटकलाई थप आकर्षण गराउन धार्मिक,सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने अवस्था छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement