भद्रपुर: अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको सङ्ग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ।
शुक्रबार सङ्ग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिए। पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो सङ्ग्रहालय बिहान साडे ८ देखि साँझ साडे ५ बजेसम्म खुल्ला हुन्छ।
पर्यटन दिवसकै सन्दर्भमा सङ्ग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्दै छ। रसियाली लेखक एवम् पर्वतारोही युरी रोदिचेभले सङ्कलन गरेका ४० फोटाहरु शनिबार प्रदर्शनीमा राखिने छन्। नेपालको हिमाल र हिमाली क्षेत्रमा उहाँले खिचेका ती तस्बिरहरु अहिलेसम्म सार्वजनिक भएका छैनन्।
‘‘प्रदर्शनीपछि ती फोटा स्थायी रुपमा सङ्ग्रहालयमै रहनेछन् भने रोदिचेभको पुस्तक ‘दी हिमालयज’समेत सो समारोहमा सार्वजनिक गरिनेछ। गत वर्ष यो सङ्ग्रहालय एक लाख ९८ हजार जनाले अवलोकन गरेका छन्। संग्रहालयको रेकर्डअनुसार यहाँ एक सय पाँच देशका नागरिकले भ्रमण गरेका छन्,’’ संग्रहालयका कार्यकारी निर्देशक न्यौपानेले भने।
संयुक्त राष्ट्रसङ्घले यसपालिको विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति तय गरेको छ। पर्यटनको माध्यमबाट शान्ति र समृद्धिमा योगदान पुग्ने पक्षलाई ध्यान दिई यो नारा बनाइएको छ।