भद्रपुर: सरकारले सुस्तापारीको बस्तीलाई एक वर्षका लागि निःशुल्क बिजुली उपलब्ध गराउने भएकाे छ। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलपछि ऊर्जामन्त्री दीपक खड्काले सुस्तापारीका ३५० घरधुरीलाई निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेका हुन्।
नारायणी नदीमा पुल बनेपछि सुस्तापारी पहिलो पटक बिजुली पुगेको हो। सांसद चौधरीले पुल निर्माण सम्पन्न भएसँगै उर्जामन्त्री खड्का र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सुस्तामा निशुल्क विजुली उपलब्ध गराउन पहल गरेका थिए। सुस्ता गाउँपालिका वडा ५ मा सुस्ता जोड्ने झोलुङ्गे पुल र विद्युत सेवा शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले भने, ‘यस क्षेत्रबाट निर्वाचित माननीय विनोद चौधरीले यहाँका जनतालाई निःशुल्क बिजुली उलपब्ध गराउन माग गरेका हुन। म यहीबाट एक वर्षका लागि निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा गर्दछु।’
प्रतिनिधिसभा सदस्य चौधरीले कार्यक्रममा निःशुल्क बिजुली उपलब्ध गराउन उर्जामन्त्रीको ध्यानाकर्षण गराएका थिए। ‘यो क्षेत्रमा पहिलो पटक बिजुली पुगेको छ। यहाँका ३५० घरधुरीमा केही वर्षका लागि निःशुल्क बिजुली सेवा उपलब्ध गराउन सरकारसङ्ग माग गर्दछु’, उनले भने। पुल शिलान्यास र बिजुली शुभारम्भ कार्यक्रममा राष्ट्रपती रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, उर्जामन्त्री दीपक खड्का उपस्थित थिए।
नारायणी नदीमा पुल निर्माण सम्पन्न भएसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको हो। नारायणी नदीमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुुसी छन्।
‘यो पुल हाम्रा लागि लाइफलाइन हो’, सुस्ताका रविन्द्र जयसवालले भने, ’निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो। अब बाध्यताबाट हामी मुक्त भएका छौं।’
२०१४ मा सम्झौता भएको यो झोलुंगे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। साढे २३ करोडमा त्रिशुली आश्रय जेभी कन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो।
पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो। यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए। उनले शहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए।