भद्रपुर: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार छिट्टै ढल्ने दाबी गरेका छन्। अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले कांग्रेस र एकीकृत माले मिलेर नबसेको दाबी गरेका हुन्। उनले ओली नेतृत्वको वर्तमान सरकार कुहिएर छिट्टै ढल्ने दाबी गरे।
‘मैले कांग्रेस र एकीकृत मालेलाई धन्यवाद भनेको छु। हामीलाई तिमीहरुले जनतातिर फर्काइदियौं। हामी जनतातिरै जान्छौं। तिमीहरु मिलेर बस। तर, उनीहरु मिल्दै छैनन्। केही समयभित्रै त्यो अपवित्र, अप्राकृतिक गठबन्धन कुहिएर झर्छ। त्यो बेला के गर्ने? हामीले सोच्नुपर्ने स्थिति छ,’ उनले भने।
उनले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएपनि वर्तमान सरकार कुहिएर झरेपछि के गर्ने भनेर सोच्नुपरेको बताए। उनले कांग्रेस–एकीकृत मालेले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको बताए।