दुबईबाट पक्राउ गरेर ३ जनालाई नेपाल ल्याइयो

IMG-20240927-WA0012

भद्रपुर: नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्दै विभिन्न मुद्दाका फरार ३ जना प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याइएको छ।
ठगी र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा फरार भएका ३ जनाविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गर्दै दुबईबाट पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया भूपेन्द्र बोहोरा र काठमांडू नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी ठगीसम्बन्धी मुद्दाका फरार प्रतिवादी हुन्।
मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमांडू चन्द्रागिरी नगरपालिका-१० का २६ वर्षीय रोमन कार्की जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार दुबईबाट ल्याइएका ३ जनालाई सम्बन्धित मुद्दामा कारबाही हुनेछ।
अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले आग्रहपछि इन्टरपोल महासचिवालयबाट २०२२ मई १ मा पक्राउका लागि भूपेन्द्र बोहोराविरुद्ध ‘रेड नोटिस’जारी भएको थियो।
त्यस्तै, काठमांडू भ्याली प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको आग्रहमा इन्टरपोल महासचिवालयबाट २०२३ जुलाई ९मा कबिर बुढाथोकी र २०२४ जुन २७मा रोमन कार्कीविरुद्ध ‘रेड नोटिस’ जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पक्राउ परेकामध्ये भूपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमांडूमा कारबाहीका लागि बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement