गान्तोक: लोकसभा सांसद डा इन्द्रहाङ सुब्बाले आज संसदको एनेक्स भवनमा आयोजित अनुमान समितिको बैठकमा भाग लिए। बैठक डा. सञ्जय जैसवालको अध्यक्षतामा बसेको हो। बैठकले प्राकृतिक तथा जैविक खेतीको विकासमाथि प्रमुखता दिएको थियो। यसअन्तर्गत कृषि विज्ञान केन्द्र र भारतीय कृषि अनुसन्धान परिषद्सँग सम्बन्धित विषयमाथि छलफल भएको थियो। छलफलको क्रममा सासंद सुब्बाले कृषिमा रासयनिक मलको प्रयोग घटाउन भारत सरकारको प्रशंसनीय प्रतिबद्धताको खुलेर प्रशंसा गरे। उनले यस पदक्षेपले दिगो कृषि अभ्यासका लागि सहयोग प्रदान गर्ने उल्लेख गरे। उले भनेअनुसार भारत सरकारको यस पहरद्वारा कृषकहरुको आर्थिक विकासमा कुनै प्रकारको नोक्सानी हुनेछैन। डा. सुब्बाले आईसीएआरअन्तर्गत कृषि विज्ञान केन्द्र र कृषि विभागका कर्मचारीहरूबीच रहेको समन्वयको कमीबारे पनि उल्लेख गरे। यदि यसमा समन्वय सशक्त भएको खण्डमा कृषिमा रोजगारीको अवसरहरु सिर्जना गर्न सकिने बताए।