बंग्लादेशविरुद्ध सीरीज क्लीन स्वीप गर्न तयार भारत

IMG-20240926-WA0321

कानपुर: भारतीय क्रिकेट टीमको शुक्रवारदेखि यहाँको ग्रीन पार्क स्टेडियममा शुरु भइरहेको दोस्रो तथा अन्तिम टेस्ट म्याचमा जीत हासिल गरी बंग्लादेशविरुद्ध दुईवटा म्याचको सीरीज क्लीन स्वीप गर्ने लक्ष्य रहनेछ। यसबीच टीमलाई कप्तान रोहित शर्मा र स्टार ब्याटर विराट कोहलीबाट ठूलो ईनिंग्सको आशा रहनेछ। भारतले चेन्नईमा खेलिएको पहिलो टेस्ट म्याचमा रविचन्द्रन अश्विनको अलराउण्ड प्रदर्शनको सहायताले जीत हासिल गरेको थियो। भारतको नजर अहिले स्वदेशमा लगातार १८औं सीरीज जित्नुमा रहेको छ। लामो समयपछि टेस्ट क्रिकेटमा फर्किएर रिषभ पन्तले शतकको साथ आफ्नो क्षमता साबित गरे पनि पहिलो टेस्टमा रोहित र कोहलीले ब्याटको साथ उल्लेखनीय योगदान दिन सकेनन्। पहिलो टेस्टमा बंग्लादेशका पेस बलरहरू हसन महमूद र तस्कीन अहमदले अनुकूल पीचमा असल बलिंग गरेका थिए। भारतको निम्ति आउँदो केही महिना टेस्ट क्रिकेटमा व्यस्त कार्यक्रम रहेको छ। यसैकारण रोहित र कोहली झट्टै फर्ममा आउनु टीमको हितमा जरूरी छ। यहाँ ग्रीन पार्कको पीचमा साधारणत स्पिनरहरूलाई सहायता पुग्छ। शुरुवातमा पेस बलरहरूलाई सहायता प्राप्त भए पनि समयको साथ पीच स्पिन बलिंगको निम्ति अनुकूल बन्नेछ। यसैकारण भारतले तीनजना पेस बलरहरूको स्थानमा तीनजना स्पिनरहरूलाई अन्तिम एकादशमा सामेल गर्ने सम्भावना छ। यस्तो स्थितिमा आकाशदीपको स्थानमा कुलदीप यादव या अक्षर पटेललेले मौका पाउन सक्छन्। ग्रीन पार्कमा भारतले यसअघि २०२१- मा खेलेको टेस्ट म्याचमा अश्विन, जडेजा र अक्षरको रूपमा तीनजना स्पिनर खेलाएको थियो। न्यूजील्याण्डविरुद्ध त्यो टेस्ट म्याच ड्र रहेको थियो। यसबीच पाकिस्तानमा २-० ले ऐतिहासिक टेस्ट सीरीज जितेर भारत आउने बंग्लादेशले पहिलो टेस्टको गल्तीहरूबाट शिक्षा लिएर असल प्रदर्शन गर्न चाहन्छ। चेन्नईमा खेलिएको पहिलो टेस्टमा बंग्लादेशका ब्याटरहरूले आशानुरुप प्रदर्शन गर्न सकेका थिएनन्। यसैकारण दोस्रो टेस्टको अन्तिम एकादशमा केही हेरफेर हुने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement