खरसाङ: खरसाङको रोहिणी चिया बगानको चिया बगानको कार्यालय अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका भातृ संगठन हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन अनि माकपाको भातृ संगठन सिटुको संयुक्त आयोजनामा आज चिया श्रमिकहरूलाई २० प्रतिशतको दरले बोनस दिनुपर्छ भन्ने मागमा गेट मिटिङ गरिएको छ। विशेषगरी गत २४ सेप्टेम्बरको दिन दार्जीलिङ मोड नजिक डागापुर श्रमिक भवनमा पहाडका सम्पूर्ण ट्रेड युनियन, मालिकपक्ष अनि सरकारबाट लेबर कमिश्नरको आयोजनामा त्रिपक्षीय वार्ता चिया श्रमिकहरुको पूजा बोनस विषयलाई लिएर सभा गरिएको थियो। त्यस सभामा मालिक पक्षको तर्फबाट बाह्र प्रतिशत दिने भनिएको तर सम्पूर्ण ट्रेड युनियन लगायत श्रमिकहरुले हामीलाई २० प्रतिशत नै बोनस दिइनुपर्छ भनेर अडिग रहेपछि सभा स्थगित भयो र यसैको सन्दर्भमा आज रोहिणी चिया बगानको कार्यालयमा मालिक पक्षको विरोधना विरोध प्रदर्शन गरियो।

यस गेट सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय नारी शक्ति तथा खरसाङ खण्ड पञ्चायत समिति सभापति अणु प्रधान, पञ्चायत समिति सदस्य भक्तिमान तामाङ, ट्रेड युनियन खरसाङ महकुमा अध्यक्ष सागर गुरुङ, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, पञ्चायत सदस्यहरु अनि माकपा ट्रेड युनियनको पक्षबाट समन पाठक, सचिन खाती लगायत ट्रेड युनियनका प्रतिनिधि अनि चिया श्रमिकहरु उपस्थित थिए।