गान्तोक। आजदेखि पूर्व मन्त्री अरूण उप्रतीले सिक्किम विधानसभाको अध्यक्षको पदभार सम्हाले। हिजो उप्रेतीले विधानसभा अध्यक्ष पदको निम्ति नामाङकन पत्र सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चालाई मुख्यमन्त्री लगायत अन्य मन्त्रीगण, विधायकगणको उपस्थितिमा बुझाएका थिए। आज मतदान गरियो जसमा उनले ३० वटा भोट पाएका थिए। तर आज उनलाई भोट दिने क्रममा पूर्व मुख्यमन्त्री चामलिङको भने सदनमा उनुपस्थिति देखियो।

उल्लेखनीय छ, यस भन्दा अघि विधायक एलबी दास सिक्किम विधानसभाका अध्यक्ष रहेका थिए तर उनले गत १६ अगस्तको दिन अध्यक्षको पदबाट राजीनामा दिएपछि अध्यक्ष पदको निम्ति चुनाउ भएको हो। आज उनको अध्यक्षतामा सदनको कार्यवाही सकेपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष उप्रतीले यसरी आफूलाई गरिमामय पदमा नियुक्ति गरेकोमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ लगायत सबै विधायकगण र मन्त्रीगणलाई धन्यवाद दिँदै यस पदको सदुपयोग गर्ने जानकारी गराए। उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई पहिला जसरी विकासको काम गर्दै आएको थियो त्यसलाई नै निरन्तरता दिने बताए। आफूले राम्रो काम गरेवापत नै अध्यक्षको पदमा पुग्न सफल बनेको जनाए। चामलिङको विधानसभामा अनुपस्थितिलाई लिएर उनले कुनै टिप्पनी गर्न चाहेनन्।