खरसाङ: बीस प्रतिशत बोनस दिनु पर्ने मागमा खरसाङको लंगभ्यु चियाबारीमा भागोप्रमोको गेट मिटिङ जारी रहेको छ। खरसाङ महुकमा अन्तगर्त लंगभ्यु चियाबारीमा बीस प्रतिशत बोनसको मागमा गेट मिटिङ सम्पन्न भएको छ। गेट मिटिङलाई सम्बोधन गर्दै पंखाबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधानले श्रमिकवर्गको बीस बोनसको माग उनीहरूको अधिकार रहेको र श्रमिकहरूको अधिकारको लडाईमा जीटीए प्रमुख कार्यपाल अनित थापा साथै आफू स्वयं सदैव श्रमिकहरूको साथमा रहेको जनाइन्। सभासद कल्पना प्रधानले श्रमिकहरू सबैलाई शान्तमय ढंगमा आन्दोलन गर्न पर्ने साथै लंगभ्यु दु:ख सुखमा कसले साथ दिन्छ श्रमिकवर्गले चिन्न पर्ने समय आएको जनाइन्। बीस प्रतिशत बोनसको मागमा आजदेखि जीटीए क्षेत्रका चियाबारीहरूमा सभासदगण, पञ्चायत समिति, पञ्चायत प्रधान, उप-प्रधान, ग्राम पञ्चायत सदस्यगण साथै पार्टीका प्रतिनिधिगणहरूले गेट मिटिङ गरिरहेको जनाइन्। यस अघि उनले लंगभ्यु चियाबारी प्रबन्धकलाई यसपालीको पूजा बोनस बीस प्रतिशतको दरले दिन पर्ने भन्दै ज्ञापन चडाइन्। गेट मिटिङलाई सम्बोधन गर्दै सन्त मेरी- ३ ग्राम पञ्चायत प्रधान साथै खरसाङ महुकमा समिति ट्रेड यूनियन संयोजक मणिराज डुम्जनले श्रमिकवर्गको बोनसको बिषयलाई भोलि शुक्रबार डाकापुरस्थित श्रमिक भवनमा सभा हुन गइरहेको र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा श्रमिक संगठन बीस प्रतिशतको बोनसको मागदेखि एक इन्च पनि पछि नहट्ने जनाए। उनले एचपीईजब्ल्युका श्रमिक संगठनलाई भोलिको बोनस सम्बन्धी सभामा निम्तो नआएको प्रसंगमा सरकार पक्षले केवल रेजिस्टर श्रमिक संगठनहरूलाई मात्र सभामा निम्ताएको हुन सक्ने भनी जनाए।

आज सम्पन्न गेट मिटिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टि सह-सचिव कुनाल छेत्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, पंचायत सदस्य सुब्रता लकान्द्री,हिल तराई डुवर्स प्लानटेशन वर्कर यूनियनका सभापति नीतु थापा, उप- सभापति साईली ख्यूल, सचिव प्रणु विश्व, सह- सचिव सरस्वती गोले साथै पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।