खरसाङ: खरसाङ महाविद्यालयको नेपाली विभागको आयोजनामा स्रष्टा संवाद/स्रष्टा परिचय कार्यक्रमको दोस्रो व्याख्यान श्रृंखला सम्पन्न भएको छ। नेपाली विभाग प्रमुख गंगाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न स्रष्टा संवाद कार्यक्रममा अतिथिद्वय जीबी. बल र पूर्ण गुरुङ ‘निरूपम’ आमन्त्रित थिए। स्मरण रहोस् पहिलो व्याख्यान श्रृंखला नेपाली भाषा विषयक वर्णविन्याससम्बन्धी रहेको थियो। उत्तर बंग विश्वविद्यालयका सहायक प्राध्यापक डा. पुष्कर पराजुली स्रोत वक्ताका रूपमा उपस्थित थिए भने यो दोस्रो व्याख्यान शृंखलाको विषय नेपाली संस्मरण लेखन साथै नाटक र रंगमञ्चसित सम्बन्धित रहेको थियो। सातवटा लेख र संस्मरणहरूको मौलिक कृति लेखेर नेपाली भाषा साहित्यलाई योगदान पुर्याउने खर्साङ क्षेत्रका विशिष्ट साहित्यकार जीबी. बलले संस्मरण लेखन के हो र यसको उद्देश्य कस्तो हुनुपर्छ भन्ने बारेमा अवगत गराए। संस्मरण लेखनले साहित्य र इतिहास दुवैको दस्तावेजीकरण गर्न सक्दछ भन्ने उनको भनाइको आशय रहेको थियो। यसै गरी नाटककार पूर्ण गुरुङ ‘निरूपम’ ले नाटक र मानव जीवनबीच अभिन्न सम्बन्ध रहेको हुन्छ भन्दै नाटकको आत्मा रंगमञ्च हो भने। रंगमञ्चबाट नै नाटकले पूर्णता प्राप्त गर्दछ भनी बताए। उनले नाटकका सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमाथि प्रकाश पारे। कार्यक्रम अध्यक्ष एवं नेपाली विभाग प्रमुख प्रा. गंगाप्रसाद शर्माले आफ्नो मन्तव्यमा विद्यार्थीहरूलाई आफ्नो भेकका साहित्यिक स्रष्टाहरूलाई चिनाउने र सोझो संवाद गरी जिज्ञासा तृप्त गर्ने कार्यक्रमको उद्देश्य रहेकाे भन्दै स्रष्टाद्वयलाई उपस्थितिका लागि धन्यवाद ज्ञापन गरे भने नाटक र जीवनका सम्बन्ध साथै संस्मरण लेखनको औचित्यमाथि थप प्रकाश पारे। प्रा. डा. योगेश खातीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन डा. सपन प्रधानले गरेका थिए भने धन्यवाद ज्ञापन प्रा. सोनाम लामाले गरेका थिए।











