गान्तोक: केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वाधीन भाजपा सरकारले तेस्रो कार्यकालको पहिलो एक सय दिनमा उल्लेखनीय कार्य गरेको सिक्किम प्रदेश भाजपाको दावी रहेको छ। सिक्किम प्रदेश भाजपाका प्रवक्ता डीआर गिरीले आज गान्तोकमा पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गिरीले भाजपा सरकारले पहिलो सय दिनमा गरेका केही विशेष कामहरूमाथि प्रकाश पारे। उनको भनाइअनुसार केन्द्र सरकारले यस सय दिनभित्र देश अनि राज्यहरूको हितमा विभिन्न योजनाअन्तर्गत १५ लाख करोड़ रुपियाँ अनुमोदन गरेको छ। जसमा कृषि सम्मान निधि योजनाअन्तर्गत मात्र २० हजार करोड़ रुपियाँ यस सय दिनभित्र वितरण भइसकेको पनि उनले दावी गरे। यसरी नै विभिन्न पूर्वाधार निर्माणका परियोजनाहरूमा ३ लाख करोड़, आगामी ५ वर्षमा देशका ४१ मिलियन युवाहरूलाई रोजगार दिन तथा उनीहरूको क्षमता विकास गर्न २लाख करोड़को पीएम प्याकेज, प्रधानमन्त्री गरीब आवास परियोजनाअन्तर्गत ३ करोड़वटा घरहरू निर्माणको मञ्जुरी आदि प्रमुख पहेको प्रवक्ता गिरीले बताए। यसरी नै यस सय दिन भित्रमा केन्द्रको भाजपा सरकारले गरेका कामहरूको सूची लामो रहेको उनको भनाइ रहेको छ। यी विभिन्न योजनाहरूबाट प्रत्यक्ष अनि परोक्ष रुपमा सिक्किम र सिक्किमवासीले पनि लाभ पाउने सिक्किम प्रदेश भाजपाको दावी रहेको छ। एउटा प्रश्नको जवाफमा प्रवक्ता गिरीले गत लोकसभा र विधानसभा चुनाउको लगतै पछि भारतीय जनता पार्टी सिक्किम प्रदेशले गठन गरेको अनुशासनात्मक समितिले पार्टीलाई रिपोर्ट बुझाइसकेको जसमाथि पार्टीले चाँड़ै कार्यवाही गरेर रिपोर्ट पनि सार्नजनिक गर्ने बताए। उल्लेखनीय छ, चुनाउको समय केही नेता अनि कार्यकर्ता पार्टी विरोधी गतिविधिमा लिप्त रहेको भन्दै भाजपा सिक्किम प्रदेशले अनुशसानत्मक समिति गठन गरेको थियो।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								



