सिलगढी: यस महिनाको १९ तारिख सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधान नगर थाना क्षेत्रको निवेदिता रोड क्षेत्रको एक घरबाट सुनको चेन चोरी भएको थियो। घरको झ्यालबाट हात हालेर घाँटीको सुनको चेन काटेर अपराधी फरार भएका थिए। चोरीको घटनाबारे २० तारिख प्रधाननगर पुलिस चौकीमा लिखित उजुरी परेपछि प्रधाननगर पुलिस चौकीले घटनाको अनुसन्धान थालेको थियो। यसैबीच गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पुलिसले दार्जीलिङको मिरिक निवासी अनमोल तामाङ नामका एक व्यक्तिलाई सोमबार राति पक्राउ गरेको छ।

त्यसपछि उनलाई पुलिस चौकीमा ल्याएर सोधपुछ गर्दा उनले चोरी गरेको स्वीकार गरेको बताइएको छ। त्यसपछि पुलिसले पक्राउ परेका अनमोल तामाङलाई लिएर हिमाचल कालोनी क्षेत्रमा छापा मारेको थियो। विवेकानन्द स्कूलको मैदानमा जमिनमुनि सुनका गहना लुकाएर राखिएको थियो। पुलिसले त्यहाँबाट चोरी भएको सुनका गरगहना बरामद गरेको छ। प्रधान नगर पुलिस थानाले आरोपीलाई मंगलबार सिलगढी अदालतमा पेश गर्यो। बरामद गरिएका सुनका गहना अदालतको नियमबमोजिम परिवारलाई फिर्ता गराउने प्रयास प्रधाननगर पुलिस चौकीले गरेको छ।











